झापा । हिन्दु धर्मावलम्बीको महान् पर्व बडादशैं आजदेखि प्रारम्भ भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादशैं घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।
घटस्थापना विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ-आफ्नो थातथलोमा जम्मा भएर मनाइने गरिन्छ ।

बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजाकोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ।
यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेलो जमरा पनि ग्रहण गरिन्छ।
कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौँसित जमराको लागि रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ।
घटस्थापनाको उत्तम साइत ९ बजेर १३ मिनेटमा आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गा देवीको प्रसाद ग्रहण गर्ने प्रचलन छ । घटस्थापनाको साइत बिहान ९ बजेर १३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।





















































