बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) को आसन्न निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । संस्थाको नेतृत्वका लागि भरतकुमार गिरी, उप्रेन्द्रप्रसाद ओली र छविलाल खतिवडाको नेतृत्वमा तीनवटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।

झापाको बिर्तामोड–२, चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको निर्वाचन आगामी असोज १० गते हुँदैछ । निर्वाचन नजिकिएसँगै तीनै प्यानलले आ–आफ्ना एजेन्डा अघि सार्दै चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।

गिरी नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ज्ञानुनाथ मैनाली, महिला उपाध्यक्षमा खिनमाया बस्नेत (सीता) र कोषाध्यक्षमा भोला धिताल उम्मेद्वार बनेका छन् । सदस्यतर्फ तीर्थराज सिग्देल, लालबहादुर गिरी, सुजन खरेल, तारा भट्टराई र रेनुका उप्रेती मैनाली रहेका छन् ।

गिरी नेतृत्वकै प्यानलबाट लेखा सुपरिवेक्षण समितिको संयोजकमा शंकर सुवेदी तथा सदस्यमा नीरजकुमार ओली र शुक्रबहादुर तामाङ उम्मेद्वार छन् ।

त्यसैगरी, उप्रेन्द्रप्रसाद ओली नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टेकनाथ खनाल (टंक), महिला उपाध्यक्षमा हरिमाया सिग्देल र कोषाध्यक्षमा भीमबहादुर गिरी उम्मेद्वार बनेका छन् । सदस्यतर्फ रमेश काफ्ले, भगीरथ लुइटेल, प्रेमप्रसाद अधिकारी, प्रमिला तिम्सिना र हिमादेवी प्रसाई चुनावी मैदानमा छन् ।

ओली नेतृत्वको प्यानलबाट लेखा सुपरिवेक्षण समितिको संयोजकमा शंकर सुवेदी तथा सदस्यमा टीकाराम उप्रेती र भुवन कडेँल उम्मेद्वार रहेका छन् ।

छविलाल खतिवडा नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल, महिला उपाध्यक्षमा पार्वता भारती गिरी र कोषाध्यक्षमा लक्ष्मीप्रसाद आचार्य उम्मेदवार बनेका छन् । सदस्यतर्फ नारायणप्रसाद गिरी, मदनराज कटुवाल, रमेश सेडाई, शिखा खड्का र राधिका चुडाल रहेका छन् ।

खतिवडा नेतृत्वको प्यानलबाट लेखा सुपरिवेक्षण समितिको संयोजकमा डम्बरबहादुर देउजा तथा सदस्यमा बबिता घिमिरे र सुनिल कार्की उम्मेद्वार छन् ।

तीनवटै प्यानल सार्वजनिक भएसँगै सहारा नेपाल साकोसको निर्वाचन थप प्रतिस्पर्धात्मक बनेको छ । उम्मेद्वारहरू मतदाता भेटघाट, छलफल तथा प्रचारप्रसारमा सक्रिय भएका छन् । नेतृत्वका आकांक्षीहरूले संस्थाको आगामी दिशा, सदस्यको हित, सेवा विस्तार तथा संस्थागत सुशासनलगायतका विषयलाई चुनावी एजेन्डाका रूपमा अघि सारेका छन् ।

तीन प्यानलबीचको प्रतिस्पर्धाले सहारा नेपाल साकोसको आगामी नेतृत्व कसको पक्षमा जाने भन्ने विषयलाई थप रोचक बनाएको छ । निर्वाचनमा तीनै समूहले आफ्नो पक्षमा मत तान्न रणनीतिक रूपमा प्रचारप्रसारलाई तीव्र बनाइरहेका छन् ।

देशकै ठूला सहकारी संस्थामध्ये रहेको सहारा नेपाल साकोसको कार्यक्षेत्र ६ जिल्लामा फैलिएको छ । संस्थाका ८० वटा सेवा केन्द्र र करिब २ लाख सदस्य रहेको बताइएको छ । ठूलो सदस्य संख्या र विस्तारित कार्यक्षेत्रका कारण सहारा नेपालको निर्वाचनलाई चासोका साथ हेरिएको छ ।