झापा । आज ऋषि पञ्चमी पर्व श्रद्धापूर्वक मनाउँदैछन्। हरितालिका तीजको भोलिपल्ट अर्थात् भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीलाई नेपाली हिन्दु धर्मावलम्बी महिलाहरूले धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्वपूर्ण पर्वका रूपमा लिइन्छ ।
यस दिन महिलाहरूले बिहानै उठेर स्नान गरी शुद्ध भई सप्तऋषिको पूजा–आराधना गर्ने परम्परा छ। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषिको पूजा गरिने भएकाले यस पर्वलाई ऋषि पञ्चमी भनिएको धार्मिक मान्यता छ। कतिपय स्थानमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने चलनसमेत रहेको पाइन्छ।
ऋषि पञ्चमीका दिन महिलाहरूले नदी, धारा, पोखरी वा घरमै स्नान गरी पूजा सामग्री तयार पारेर सप्तऋषिको पूजा गर्छन्। विशेषगरी दत्तिवनको प्रयोग गरी दाँत माझ्ने, माटो तथा विभिन्न वनस्पतिबाट शुद्धीकरण गर्ने र पवित्र जलले स्नान गर्ने परम्परा पनि कतिपय समुदायमा रहँदै आएको छ।
धार्मिक मान्यताअनुसार महिलाले महिनावारीका क्रममा जान–अन्जानमा भएका त्रुटि तथा दोषबाट मुक्ति पाउन ऋषि पञ्चमीको व्रत र पूजा गर्ने गर्दछन्। यस दिन व्रत बसेर सप्तऋषिको पूजा गरेमा शारीरिक तथा मानसिक शुद्धि हुने र पाप तथा दोषबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।
ऋषि पञ्चमी केवल धार्मिक अनुष्ठान मात्र नभई नेपाली समाजको मौलिक संस्कृति, परम्परा र पारिवारिक संस्कारसँग जोडिएको पर्व पनि हो। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यस पर्वले आफ्ना धार्मिक तथा सांस्कृतिक मूल्य–मान्यताको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको संस्कृतिविद्हरू बताउँछन्।
धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक चेतनाबीच सन्तुलन कायम गर्दै पर्व मनाउन सके ऋषि पञ्चमीले नेपाली मौलिक संस्कृतिको संरक्षणसँगै सकारात्मक सामाजिक सन्देशसमेत दिन सक्ने देखिन्छ।






















































