रसुवा । रसुवा-भोटेकोशी आएको बाढीका कारण कुल क्षतिमध्ये करिब ३ खर्ब रुपैयाँ भन्दा बढी निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ । बाढीमा सरकारी र निजी क्षेत्रको गरी ४ खर्ब ८ अर्ब रुपैयाँ बराबरको क्षति भएको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरडीएनए) को प्रतिवेदनले अनुमान गरेको हो ।
‘बाढीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जलविद्युत् आयोजना, विद्यालय, सवारीसाधन, सञ्चारमाध्यमलगायत भौतिक संरचनामा क्षति भएको छ,’ राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनएका संयोजक अर्जुन भण्डारीले भने, ‘निजी क्षेत्रको मात्रै करिब ३ खर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।’
प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरिएको उनले बताए । ‘राष्ट्रिय योजना आयोगले विपद्पछिको आवश्यकता आकलन (पीडीएनए) सुरु गरेको छ । जसमा स्पष्ट रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भनेर छुट्टाछुट्टै आकलन हुन्छ,’ भण्डारीले भने, ‘अहिले पनि कुल क्षतिमध्ये १ खर्बभन्दा बढी सरकारी र बाँकी निजी क्षेत्रकै भएको अनुमान छ ।’ बाढीले व्यापार/उद्योग गरेर करिब ४ हजार ८ सय व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्णरूपमा क्षति पुगेको आकलन छ, जसबाट १ खर्ब ४६ अर्ब १९ करोड रुपैयाँको क्षति भएको छ । बाढीबाट भौतिक संरचनामा भौतिक रूपमा पुगेको क्षति र त्यसबाट गुमेको सम्भावित हानिनोक्सानी जोडेर आरडीएनएले कुल क्षति तथा हानिनोक्सानी गणना गरेको हो । त्यसअनुसार बाढीले १ खर्ब ४६ अर्ब १९ करोड रुपैयाँ बराबरको आर्थिक गतिविधि/जीवनयापनमा असर गरेको देखाएको छ, जसमा ३० अर्ब ३० करोडको क्षति र १ खर्ब १५ अर्ब ८९ करोडको हानिनोक्सानी भएको जनाइएको छ । व्यावसायिक प्रतिष्ठानको पुनर्निर्माणका लागि मात्र ४५ अर्ब ४५ करोड रुपैयाँ आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।यस्तै, प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा क्षति पुगेकामध्ये १ हजार २ सय ५९ होटल तथा रेस्टुरेन्ट, १ हजार २ सय १२ थोक तथा खुद्रा व्यापार, ८ सय ६६ शैक्षिक संस्था, ३ सय ४५ विद्युत्, ग्यास र पानी उद्योग, २ सय ६३ उत्पादनमूलक उद्योग, २ सय २७ अन्य सेवाका क्रियाकलापहरू, १ सय ९० वित्तीय क्षेत्र र बिमाका क्षेत्र, १ सय ७९ कृषि, मत्स्य र वनका व्यवसाय, १ सय ७१ मानव स्वास्थ्य र सामाजिक कार्य र ८७ यातायातसँग सम्बन्धित व्यावसायिक प्रतिष्ठान प्रभावित भएको आरडीएनएले जनाएको छ ।, बाढीले रसुवामा १ हजार ७ सय ७९, नुवाकोटमा ३ हजार ९ सय ७७, धादिङमा १ हजार ४ सय ५१, गोरखामा २ सय ६८ र चितवनमा एक सय गरी कुल ७ हजार ५ सय ७० निजी घर आंशिक वा पूर्णरूपमा क्षति भएको आरडीएनएमा उल्लेख छ । क्षतिग्रस्त घरमध्ये माटो–ढुंगाले बनेका घर २ हजार ३ सय १९, ढुंगा, इँटा, सिमेन्टका घर ३ हजार २ सय १५ र कंक्रिट-ढलान घर २ हजार ३६ छन् । भवनतर्फ मात्रै ६३ अर्ब ८८ करोड रुपैयाँ बराबरको क्षति भएको आरडीएनएको प्रतिवेदनले औंल्याएको छ । यी भवन पुनर्निर्माणका लागि ९५ अर्ब ८२ करोड रुपैयाँ आवश्यक रहेको प्रतिवेदनको अनुमान छ । कान्तिपुरबाट






















































