झापा । शैक्षिक संस्थामा धाकधम्की दिने झापाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय नेता तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य धम्की दिने हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई विभिन्न सरकारी तथा राजनीतिक पदमा रहेको भन्दै परिचय दिने गरेको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विश्वकर्माले आफूलाई रास्वपाको केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भएको दाबी गर्दै विभिन्न स्थानमा प्रवेश गर्ने, दबाब दिने तथा धाकधम्की दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तर, उनले दाबी गरेका पद तथा जिम्मेवारी वास्तविक नभएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विश्वकर्मामाथि झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार विश्वकर्माले झुटो परिचय दिएर कसैबाट लाभ लिएको वा कसैलाई हानि–नोक्सानी पुर्‍याएको भए प्रहरीमा जानकारी गराउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले विश्वकर्माबाट त्यस्तो कार्य भएको जानकारी वा प्रमाण भए प्रहरी कार्यालयमा सम्पर्क गरी अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेको छ ।