चारआली । नेपाल जेसीजको क्षेत्रीय सम्मेलन यसपटक झापाको चारआलीमा हुने भएपछि सम्मेलनलाई भव्य र प्रभावकारी बनाउन आवश्यक तयारीमा जुटेको छ ।

चारआली जेसीजको आयोजनामा आगामी असोज ९ र १० गते हुने क्षेत्रीय सम्मेलनमा देशका चर्चित व्यक्तित्वहरू बक्ताको रुपमा सहभागी हुने भएका छन् । दुई दिनसम्म चल्ने सम्मेलनले युवामा नेतृत्व क्षमता विकाससँगै सामाजिक उत्तरदायित्व, उद्यमशीलता र सकारात्मक सोचको विकासमा थप ऊर्जा प्रदान गर्ने आयोजकको विश्वास छ । 

सम्मेलनको मुख्य कार्यक्रमका रूपमा रहने थिम सेमिनारमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, संघीय सांसद तथा नेपाल जेसीजका पूर्वराष्ट्रिय उपाध्यक्ष राजन गौतम र वरिष्ठ पत्रकार टीकाराम यात्री मुख्य वक्ताका रूपमा सहभागी हुने आयोजकले जनाएको छ । 

चारआलीमा हुने सम्मेलनलाई जेसीजको क्षेत्रीय गतिविधिसँगै युवाको नेतृत्व विकास, समसामयिक विषयमाथिको बहस र नयाँ पुस्तालाई सकारात्मक दिशातर्फ अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।

नेपाल जेसीजका कोषाध्यक्ष तथा चारआली जेसीजका निवर्तमान अध्यक्ष सुजुप सुवेदीका अनुसार सम्मेलनको मुख्य आकर्षणका रूपमा रहेको थिम सेमिनारमा तीनै जना वक्ताले नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्कीको `थिम, ड्रिम, एक्ट एण्ड एचिभ´लाई केन्द्रमा राखेर आफ्ना धारणा राख्नेछन् । क्षेत्र ‘क’ अन्तरगतका ४८ वटा जेसीज शाखाबाट युवा नेतृत्व र प्रतिनिधिहरु करिव एक हजार भन्दा बढी युवाहरुको सहभागितामा रहने अपेक्षा गरिएको सम्मेलनमा विभिन्न सत्र, प्रशिक्षण, अन्तरक्रिया तथा जेसीज अभियानसँग सम्बन्धित कार्यक्रमसमेत सञ्चालन आयोजक चारआली जेसीजका अध्यक्ष सन्जय निरौलाले बताए ।