झापा । समयमै मृगौला रोगको पहिचान गरे ९० प्रतिशत मृगौला बचाउन सकिने एक अध्ययनले देखाएको छ । वीर अस्पतालमा ५ सय जना मृगौला बिरामीमाथि गरिएको अध्ययनले यस्तो देखाएको हो ।
उक्त अध्ययन सोही अस्पतालले गरेको थियो । अस्पतालका युरोसर्जरी विभाग प्रमुख कन्सल्ट्यान्ट प्रा.डा. रविनबहादुर बस्नेतले ५ सय जनामा ४७० जनाको मृगौला समयमा नै उपचार गरेको भएमा बचाउन सकिने अध्ययनमा देखिएको जानकारी दिए । तीमध्ये ३० जनाको मात्र मृगौला जोगाउन नसकिने अवस्थाको रहेको उनले बताए ।
जनचेतनाको कमीले नियमित जाँच नगर्दा ती जोगाउन नसकिएको उनको भनाइ छ । उनका अनुसार धेरैजसो मिर्गौलाका बिरामी पत्थरीका कारण हुने गरेका छन् । ५ सय जनामा गरिएको अध्ययनमा ६५ प्रतिशत बिरामीमा पत्थरीको कारण मृगौला बिग्रिएको देखिएको छ । त्यसैगरी १५ प्रतिशत जन्मजात मृगौलाका बिरामी, १० प्रतिशतमा मृगौलाको क्यान्सर र चार प्रतिशतमा अन्य सङ्क्रमणले मृगौला बिग्रने गरेको अध्ययनले पुष्टि गरेको छ ।
पत्थरीले पिसाब आउने बाटो बन्द गरिदिन्छ र पिसाब थैलीमा पिसाब नआए मृगौला फुल्लिँदा बिग्रने गर्छ । यसरी एउटा मृगौला फुल्लिए पनि अर्को मृगौला काम गर्ने हुँदा बिरामीले मृगौला फुल्लिएको थाहा पाउँदैनन्, जसले गर्दा अर्को मृगौला बिग्रने चिकित्सकहरुको भनाइ छ ।
जन्मजात मृगौलाको पिसाब थैलीमा जाने मुख बन्द भए पनि मानिसको २० देखि ३० वर्षको बीचमा मृगौला बिग्रने प्राडा बस्नेतले बताए । संसारमा एकदेखि चार प्रतिशत मानिसको एउटा मात्र मृगौला हुने गर्छ ।
पानी कम खानाले, मधुमेहका बिरामी, मद्यपानका कारण मृगौला बिग्रने गर्छ । ‘पेनकिलर’ औषधि (आइबुप्रोफेन, निमेसुलाइड) आफूखुसी खाँदा पनि मृगौला बिग्रन्छ ।
वीर अस्पतालमा मृगौला बिग्रेका ५ सयमध्ये २२० जना पहिलोपटक अस्पताल आएको प्रमुख कन्सल्ट्यान्ट प्राडा बस्नेतले जानकारी दिए । अध्ययनअनुसार पुरुषको तुलनामा महिलाको बढी मृगौला बिग्रने समस्या देखिएको छ । उनका अनुसार पुरुषको तुलनामा महिलामा डेढ गुणा बढी मृगौला बिग्रने गरेको छ ।
उनले मृगौला बचाउनका लागि जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताए । पानी दिनमा तीन लिटर पिउने, मोटोपन घटाउने, फलफूल प्रशस्त खाने, नियमित मृगौला जाँच गर्ने गर्नुपर्छ ।















































