मेचीनगर । जेनजी आन्दोलनमा आगजनी भएको मेची भन्सार कार्यालय भोलि सोमबारदेखि सुचारु हुने भएको छ ।
मेची उद्योग बाणिज्य संघको पहलमा आज भएको सरोकारवलाको छलफलमा कार्यालयभित्र नष्ट भएका सामाग्री आवश्यक विद्युतीय उपकरण कम्प्यूटर, प्रिन्टर, पंखा, टेवल, कुर्सी लगायतको ब्यवस्थापन गरिदिने भएपछि सूचारु गरिने भएको हो ।
भौतिक सामाग्री व्यवस्थापन गरिदिने भएपछि सोमबारदेखि भन्सारमा जाँचपास गरिने र आयात निर्यात सूचारु हुने भएको  मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेम प्रसाईंले जानकारी दिए ।
छलफलमा भन्सार प्रमुखलाई अध्यक्ष प्रसाईंले भन्सार अवरुद्धले समस्या  आएको भन्दै आयात निर्यातमा सहयोग गर्न सुचारु गर्न आग्रह गरेका थिए । भन्सार प्रमुख हरिहर पौडेलले आगलागीबाट विद्युतीय उपकरण, फर्निचर लगायतका सामान जलेर नष्ट भएपछि सूचारु गर्न गाहे रहेको बताएका थिए । संघले तत्काल कार्यालयमा आवश्यक पर्ने कम्प्युटरलगायतका विद्युतीय सामाग्री सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।
जेनजीले भदौ २४ गते भन्सार कार्यालय तोडफोड, आगजनी र गोदाममा राखिएको सामान लुटेर लगेका थिए ।  मेची उद्योग बाणिज्य संघका अध्यक्ष प्रसाई, वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, महासचिव दिनेश शाक्य, संस्थापक अध्यक्ष पन्नलाल जैन, पूर्व अध्यक्ष केशवराज पाण्डे, पूर्व वरिष्ठ उपाध्यक्ष मोहन निरौला, कार्यकारी प्रमुख गोपाल वस्नेत, कार्यसमितिका सदस्य सन्तोष खवास, नेपाल भेनियर उत्पादक संघका अध्यक्ष श्याम न्यौपाने, नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई, उपाध्यक्ष नारायण चिमरिया, मेचीनगरका निवर्तमान मेयर विमल आचार्य लगायत व्यवसायीहरुले भन्सार सूचारु गर्न अनुरोध गरेका थिए ।