झापा । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले संविधानप्रति बफादार रहने गरी प्रधानमन्त्रीको शपथ लिएकी छिन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासको भित्री कोठामा शपथ खुवाएका हुन्। शपथमा उनले नेपालको संविधानप्रति पूर्ण बफादार रहने शपथ लिएकी छिन्।
शपथ ग्रहण कार्यक्रममा थोरै मात्र अतिथिहरू उपस्थित छन् । सामान्य कार्यक्रमकाबीच सुशीलाको शपथ खुवाएका थिए। समारोहस्थलमा पूर्व प्रधानमन्त्रीको रूपमा डा. बाबुराम भट्टराई उपस्थित छन्। उपराष्ट्रपति, प्रतिनिधि सभाका अध्यक्ष, राष्ट्रिय सभाका अध्यक्ष लगायतका अतिथिहरू शीतल निवासमा पुगिसकेका छन्। प्रधानमन्त्रीको शपथका लागि शीतल निवासलाई सेनाले आफ्नो सुरक्षा घेरामा लिएको छ। सेना शीतल निवासको सडकमा उत्रिएको छ। सडकमा निजी सवारी साधनको आवागमन रोकिएको छ।

७३ वर्षीया कार्की मुलुकको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । उनी २०७४ जेठसम्म १४ महिना सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेकी थिइन् । राष्ट्रपति पौडेल, जेनजी समूहका प्रतिनिधि र दलहरूबिच औपचारिक अनौपचारिक संवाद भएपछि कार्कीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको हो । यो समझदारीमा कांग्रेसका नेताहरूले असन्तुष्टि जनाएका छैनन् । स्रोतका अनुसार राष्ट्रप्रति पौडेलले नयाँ प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गर्नुपर्ने र मन्त्रिपरिषद्को पहिलो बैठकमै चुनावको मिति घोषणा हुनुपर्ने अडान राखेका थिए । यो अडानमा मान्दै कार्की प्रधानमन्त्री बन्न तयार भएकी हुन् । 

राष्ट्रपतिका सल्लाहकार पोखरेल पनि कार्कीको नियुक्तिपछि बस्ने मन्त्रिपरिषद्को बैठकको सिफारिस संसद् विघटनसहितका प्रक्रिया अगाडि बढ्ने समझदारी भएको बताएका छन् । लामो समय संसद् विघटन गरेपछि मात्रै प्रधानमन्त्रीमा शपथ लिने अडानमा बसेकी थिइन् । तर नियुक्तिपछि संसद् विघटन गर्न तयार भएपछि उनलाई राष्ट्रपति पौडेलले शपथ गराएका हुन् ।  जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको प्रदर्शन भएको थियो । यही विरोध प्रदर्शनपछि नयाँ चुनावी सरकारको कोर्समा देश अगाडि बढेको हो । 
कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न बिहीबार बेलुका नै सहमति जुटेको थियो। तर शुक्रबार उनले पुन संसद् विघटनको सर्त राखेपछि दिनभरको छलफलमा सहमति जुटेपछि शीतल निवासमा उनलाई सपथ खुवाइएको हो । उनलाई १६ वटा मन्त्रालयको जिम्मा दिइएको सुनाइएको थियो ।