झापा । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर साहदत्त प्राप्त गरेका जेन—जीहरुप्रति आम नागरिकले श्रद्धाञ्जली व्यक्त गरेका छन् । 
देशभरका विभिन्न संघ—संगठनहरुले आन्दोलनका क्रममा दोहोरो झडपमा परेर ज्यान गुमाउने युवालाई श्रद्धाञ्जली दिने क्रम बढेको हो । झापाको मेचीनगर—१४ प्रगतिटोलका स्थानीयवासीले श्रद्धाञ्जली दिएका छन् । विभिन्न चोकमा सेनाको कफ्यु खकुलो बनाएपछि साँझमा आयोजना गरेको श्रद्धाञ्जलीमा नेपालको झण्डासहित दीप प्रज्वलन गरिएको थियो । स्वतस्फुर्त निस्केका स्थानीयले नेपालको नक्सा कोर्दै दीप प्रज्जलन गरेर मृतकको सम्झाना गरेका थिए ।मृतकको सम्झनाका क्रममा नेपालको आमूल परिवर्तनका लागि हिम्मत गर्ने युवाप्रति श्रद्धासुमन व्यक्त गरेका थिए । साथै, साहदत्त प्राप्त गर्ने युवाको परिवारमा गहिरो समवेदना व्यक्त गरिएको प्रगतिटोलकी समाजसेवी कृष्णकुमारी सुवेदीले जानकारी दिइन् । श्रद्धाञ्जलीमा सहभागी युवा—युवतीले आधा दर्जन राष्ट्रिय गानसमेत प्रस्तुत गरेका थिए ।
हालसम्म मृत्यु हुनेको संख्या ५१ जना पुग्यो:
गोली लागेर शक्त घाइते भएका जेन—जी युवा र प्रहरीको उपचारका क्रममा निधन हुनेक्रम बढेको छ । हालसम्म देशभर आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ जना पुगेको छ । प्रदर्शनकारीको उचित मागप्रति सरकारले वेवस्ता गरेपछि आन्दोलन भड्किएको थियो ।प्रदर्शनकारीको अराजक प्रदर्शनमाथि दवाव दिने नेपाल प्रहरीले अश्रृ ग्यास, प्लाष्टिकका खोका र गोली चलाएको थियो । भदौ २३ र २४ गते दुई दिन भएको जेन—जी आन्दोलनमा देशभर मृत्यु हुनेको संख्या ५१ पुगेको जनाएको छ । आन्दोलनका क्रममा ३ जना प्रहरीसहित ५१ जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ । आन्दोलनका क्रममा भएको अन्य क्षतिको विवरण भने संकलन गर्ने कार्य भइरहेको प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए ।थप क्षतिको विवरण संकलन गरिदैंछ । प्रदर्शनका क्रममा एक जना भारतीय महिला, ९ जना कैदीको मृत्यु भएको छ । यस्तै, बाँकेस्थित बाल सुधार गृहमा भएको झडपमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार प्रदर्शनका क्रममा घाइते भएका १७७१ जनाको विभिन्न ६० अस्पतालमा उपचार भएको छ ।जसमध्ये १३७९ जना उपचारपछि डिस्चार्ज गरिएको थियो भने २८४ जनालाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।





















































