काठमाडौं । जेन-जी आन्दोलनपछि निर्णायक वार्तामा प्रमुख राजनीतिक दलहरू पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन सैद्धान्तिक रूपमा सहमत भएका छन् ।

यद्यपि, संसद् विघटन गर्ने वा नगर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा अन्तिम निर्णय भने हुन सकेको छैन।

राष्ट्रपति रामचन्द्र पौडेलको पहल र नेपाली सेनाको सहजीकरणमा शीतल निवासमा भएको सर्वपक्षीय छलफलमा जेन-जीका प्रतिनिधिहरूले संसद् विघटन नभएसम्म कुनै पनि प्रक्रिया अघि बढ्न नसक्ने अडान राखेका थिए।

उनीहरूले राति ११ बजेसम्म निकास नदिए बिहानैदेखि आन्दोलन चर्काउने र राष्ट्रपतिलाई समेत नछाड्ने चेतावनी दिएपछि दलहरूमाथि थप दबाब सिर्जना भएको थियो।

यो तनावपूर्ण अवस्थाबीच राष्ट्रपति पौडेलले दलका शीर्ष नेताहरू, सेना प्रमुख र संविधानविद्हरूसँग रातभर निरन्तर परामर्श गरेका थिए।

संविधानविद्हरूले आवश्यकता परेमा संक्रमणकालीन व्यवस्था गरेर गैर-सांसदलाई प्रधानमन्त्री बनाउन सकिने सुझाव दिएका थिए।

वार्तामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आफैँ शीतल निवास पुगेका थिए भने कांग्रेसका नेताहरू फोनमार्फत सक्रिय थिए।

दलहरूले संसदबाटै निकास निकाल्नुपर्नेमा जोड दिए पनि जेन-जी पक्ष आफ्नो अडानमा अडिग रह्यो।

संसद् विघटन गर्नैपर्ने भए त्यसअघि संसद् बैठक बोलाएर संविधान संशोधनमार्फत नागरिक सरकारको बाटो खोल्ने विकल्पमा समेत छलफल भएको थियो।

यसैबीच, नेपाली सेनाले संक्रमणकाल लम्ब्याउँदा देशले भोग्नुपर्ने जोखिमप्रति गम्भीर बन्न राजनीतिक नेतृत्वलाई आग्रह गरेको छ।