मेचीनगर । झापाको मेचीनगरमा निजी तथा संस्थागत विद्यालयको छाता संगठन प्याब्सनभित्रको चरम विवाद सतहमा पुगेको छ । प्याब्सनमा नयाँ कार्यकालको नेतृत्व हत्याउन नपाएपछि लोकतान्त्रिक विधिबाट निर्वाचित नेतृत्वलाई केही स्कुल सञ्चालकहरुको मिलेमतोमा असफल बनाउन लागेको आरोप छ । प्याब्सन मेचीनगरमा नयाँ नेतृत्व चयनमा समस्या आएपछि निर्वाचन प्रणालीबाट विक्रम क्षेत्रीलाई आगामी नेतृत्वका लागि मार्ग प्रशस्त गरिएको थियो । निर्वाचित अध्यक्ष क्षेत्री प्याब्सनका पूर्वउपाध्यक्ष हुन् । नयाँ नेतृत्वका लागि निर्वाचित क्षेत्री र पूर्वकोषाध्यक्ष कमल भेटवालले अध्यक्ष पदमा उठेका थिए ।

निर्वाचनले क्षेत्रीलाई भारी मत दिएर निर्वाचित गरेको थियो । तर, ३ वर्षे कार्यकालका लागि नेतृत्व सुरु गर्न नपाउँदै दाँतमा ढुंगो लागेजस्तै भएको छ । उनलाई नयाँ समितिको विस्तारित बैठक बस्न नपाउँदै केही स्कुलको आफुखुसी गतिविधि गरेर अवरोध श्रृजना भएको छ ।लोकतान्त्रिक अभ्यासमा विजेता र उपविजेता दुवै स्वीकार गर्नुपर्छ । तर, प्याब्सन मेचीनगरको निर्वाचनबाट उपविजेता बनेका कमल भेटवालले निर्वाचित कार्यसमितिसँग प्रतिशोध राखेर बाह्य गतिविधि गरेको आरोप समितिको छ । उपविजेता बनेलगत्तै प्याब्सन मेचीनगरको कार्यक्रम विथोल्न केही स्कुललाई जुटाएर एक दिन अघि कार्यक्रम गरेको नयाँ समितिको आरोप छ ।‘जिल्ला प्याब्सनले मेचीनगरसहित सबै नगरमा भदौ १४ गते कार्यक्रम गर्न परिपत्र गरेबमोजिम हामीले कार्यक्रम गर्यौं’, अध्यक्ष क्षेत्रीले भने, ‘एकदिन अघि नै बैधानिकता पाएको समितिलाई पनि थाहा नदिईं कार्यक्रम गरेको पाइयो । त्यसमा पनि मैले केही भनेको छैन ।

आफूखुसी कार्यक्रम गर्ने अनि नगरसमितिले आयोजना गरेको कार्यक्रममा सहभागी नबन्ने, विस्तारित बैठकमा सहभागी नहुनुले उपविजेताको प्रतिशोध राखेको पाइन्छ ।’उपविजेता बनेका भेटवालले नौ वटा निजी स्कुलसँग सहकार्य गरेर भदौ १३ गते विद्यार्थीको हितमा भन्दै झापा नेशलन स्कुलमा ‘स्कुल ब्रेनवेभ’ नामक कार्यक्रम आयोजना गरेका थिए । ‘स्कुल ब्रेनवेभ’ नामक कार्यक्रममा प्याब्सन मेचीनगरका पूर्वअध्यक्ष एवम् प्याब्सन प्रमुख सल्लाहकार डम्बर रुचालले पनि आफ्नो स्कुलको प्रतिनिधित्व गराएका थिए ।उक्त विषय र आयोजित विस्तारित बैठकमा पूर्वअध्यक्ष डम्बर रुचाल र पूर्व कोषाध्यक्ष भेटवालले हालसम्म आर्थिक गतिविधि र कार्यालय व्यवस्थापनको जिम्मा नयाँ समितिलाई नदिएकोप्रति सहभागीहरुले गुनासो व्यक्त गरेका थिए ।

विस्तारित बैठकमा प्रमुख सल्लाहकार रुचाल पनि उपस्थित भएनन् । विस्तारित बैठकमा पनि नआउने र बैधानिक संस्थालाई जानकारी नदिई कार्यक्रम गर्ने विषय थप जटिल बनेको सहभागी हिमालयन एकाडेमी स्कुलका संस्थागत प्रिन्सिपल जगत तामाङले बताए ।‘यसअघि पनि केही स्कुल मिलेर खेलकुद प्रतियोगिताको आयोजना गरेका थियौँ । प्याब्सन समितिलाई पुरस्कार दिन निमन्त्रणा गरिन्थ्यो । कुनै पूर्वाग्रह नराखी कार्यक्रम सञ्चालन गरिएको थियो । तर, यहाँ त कार्यक्रम बारेमा थाहा नै नदिने र समितिले निमन्त्रणा गरेको बैठकमा पनि नआउनुले पूर्वाग्रह राखेर नयाँ समितिलाई असफल बनाउने खोजेको देखियो,’ तामाङले भने ।  पूर्वसमितिले आर्थिक हिसाब र कार्यालय जिम्मा लगाएको छैन ।

प्याब्सन मेचीनगरका पूर्वअध्यक्ष डम्बर रुचाल र कोषाध्यक्ष कमल भेटवालले निजी तथा संथागत विद्यालय (प्याब्सन) मेचीनगरको बैंक खाता र अफिस नै गायव बनाएको आरोप चर्चामा छ । मेचीनगर समितिले निर्माण गरेको प्याब्सनको कार्यालय नै पूर्वसमितिले छिन्नभिन्न बनाएर गायव बनाएपछि नयाँ कार्यसमिति कार्यालयबिहीन बनेको छ । कार्यालय नभएपछि अध्यक्ष विक्रम क्षेत्रीले गत मंगलबार भदौ १६ गते आफ्नो स्कुल कन्भेन्ट अंग्रेजी बोर्डिङ स्कूलको कार्यालयमा बैठक राखेका थिए । उक्त बैठकमा पनि ८ वटा स्कुल सहभागी नभएको अध्यक्ष क्षेत्रीको भनाई छ ।बैठकमा अध्यक्ष क्षेत्रीले भने, ‘पूर्वसमितिले आर्थिक कारोबार गर्न बैंक खाता र कार्यालयको चावी हालसम्म जिम्मा नदिएपछि कुरा मैले गरेको थिएँ । कोषाध्यक्ष भेटवालले कार्यालय व्यवस्थापन गर्दा हाम्रो गोजीको परेको छ । हामीले स्वतस्फुर्त टेवल, कुर्सी, दराज बाँडफाँड गर्यौं भन्नुभयो । आर्थिक विषयमा बैठकमै कुरा गरौँला भन्ने सोचमा थिएँ । पूर्वअध्यक्ष र पूर्वकोषाध्यक्षद्वय नै बैंठकमा आउनुभएन ।’

अध्यक्ष क्षेत्रीको कुरा सुनेपछि बिस्तारित बैठकमा सहभागीहरुले प्याब्सनले गर्दै आएको गतिविधिलाई अझ राम्रो बनाउन सल्लाह सुझावसहित नयाँ योजना पनि दिने अधिकार सदस्यहरु रहेको उल्लेख गर्दै बैठकमा सहभागी नै नहुने, नयाँ समितिसमक्ष कुनै धारणा नै नराख्नु अव्यवाहारिक र नयाँ नेतृत्वलाई नमान्ने प्रवृति स्थापित भएको पाइएकाले त्यस्ता स्कुललाई नगर र जिल्ला समितिले स्पष्टीकरण सोध्न नेतृत्वलाई सुझावसमेत दिएका थिए ।उनीहरुले प्याब्सनको कार्यालय व्यवस्थापनमा लागेको आर्थिक रकममा सबै स्कुल भागेदारी बन्नुपर्नेमा जोड दिएका थिए । तर, कति लागत हो ? क–कसले रकम दिनुभएको छ भन्ने बारे पूर्वकोषाध्यक्ष भेटवालले हालसम्म कसैलाई पनि भनेका छैन ।

संस्थाको कार्यालयको कुर्सी तथा फर्निचरका सामान कसरी बाँड्न पाउनुहुन्छ, सबैले प्रश्न गरेका थिए । कार्यालयको फर्निचर तथा सामाग्री नै उठाएर हिँड्नुले पूर्व नेतृत्वको गैरजिम्मेवारीपन र नयाँ नेतृत्वमाथि इगो राखेको ठम्याईं थियो ।

पूर्वअध्यक्ष डम्बर रुचालःजहाँसम्म कार्यालय सञ्चालनको कुरा छ । सञ्चालन गर्दै गर्दा सञ्चालन खर्च धान्न नसकेपछि तत्कालीन कोषाध्यक्षले आफ्नो व्यक्तिगत लगानी गरी फस्र्यौट गरेर कार्यालयको केही सामान व्यक्तिलाई जिम्मा लगाएको र संस्थापक प्रिन्सिपलले स्पोन्सर दिएकोे कुर्सीहरु सुरक्षित रहेको छ ।बैठकमा सहभागी नभएको बारेःहामी बैठकमा आउने तयारीमा थियौँ । जिल्ला प्याब्सनका अध्यक्षले बोलाएपछि हामी सबै जिल्लामा पुग्यौँ । बैठकमा सहभागी नपाउनुको कारण त्यही हो ।आर्थिक विषयमाःउ वेलाको कोषाध्यक्ष, परीक्षा समितिको संयोजकलाई दिनुपर्ने बक्यौताहरु नदिएका कारण र पद हस्तान्तरण कार्यक्रम आयोजना नभएका कारण हालसम्म रहिआएको छ । ‘स्कुल ब्रेनवेभ’ कार्यक्रम भयो । कार्यक्रम भएको रिसको आवेगमा अतिरञ्जित बनाउने प्रयत्न भएको छ । यसले संगठनको मूल्यमान्यता र गोपनियतालाई हानी पुर्याउँछ । अन्य गोपनीयताका कुरा पनि छन् । आवश्यक परे हामी संगठनभित्रै समाधान खोज्नेछौं । 

पूर्वकोषाध्यक्ष कमल भेटवालः

नयाँ समितिसँग कुनैपनि पूर्वाग्रह नरहेको मेचीनगर प्याब्सनका पूर्वकोषाध्यक्ष कमल भेटवालले बताए । उनले हामी कार्यसमितिमा रहँदा विद्यार्थीको चौतर्फी विकास, सहभागी विद्यार्थी र स्कुललाई निरासरहित ढंगले ‘स्कुल ब्रेनवेभ’ कार्यक्रम योजना अघि सारेका थियौँ । २ वटा कल्चरल कार्यक्रम पनि गर्यौँ । विद्यार्थीको क्षमतावृद्धिका लागि ल्याएको योजना नयाँ समितिले नगर्ने निर्णय गरेसँगै हामी केही स्कुल स्वतस्फूर्त मिलेर स्कुल ब्रेनवेभ कार्यक्रम गरेका हौँ ।कार्यालयको बारेमा हामी केही साथीहरुले व्यक्तिगत रुपमा ८–१० वटा कुर्सी, एउटा टेवल र एउटा दराजको व्यवस्थापन गरेका थियौँ । उक्त व्यवस्थापनबारे बैठकमा स्कुल सञ्चालकहरुलाई जानकारी गराएको थियौं । आर्थिक व्यवस्थापनका बारेमा उनीहरुले चासो नदेखाएपछि हामीले त्यसपछि कुरा गरेनौं । निर्वाचनअघि कार्यालयको बारेमा चर्चा गरिएको थियो । कसैले प्रतिउत्तर नगरेपछि भाडा तिरेर राख्नुभन्दा व्यक्तिगत रुपमा व्यवस्थापन गरेको फर्निचर लगायतका सामाग्री निकालेर कोठा बन्द गरिदिएको हौं । ‘प्याब्सन हाम्रै हो,’ भेटवालले भने, ‘स्कुल ब्रेनवेभ कार्यक्रमलाई संस्थागत गर्न लागेका छौं । जसमा इच्छुक सरकारी विद्यालय, एनप्याब्सन तथा छाता संस्थामा सहभागी नभएका निजी स्कुललाई समेत सहभागी गराइनेछ ।’