झापा । नेकपा एमालेले एमालेबाट निर्वाचित झापाका विभिन्न नगर र गाउँपालिका वडाध्यक्षहरुसँग वडाको नेतृत्व गर्दा देखिएका समस्या, चुनौति र समाधानका बिषयमा अन्तरसंवाद गरेकोे छ । नेकपा एमाले झापा स्थानीय विकास विभागले आइतवार आयोजना गरेको अन्तरसंवाद वडाध्यक्षहरुले आफ्नो वडामा गरेका उत्कृष्ट काम र समस्याहरुको बारेमा अनुभव सुनाए । अन्तरसम्बादमा पालिका–पालिकाको समूह बनाएर सामुहिक रुपमा काम र समस्याहरु राख्दै एक अर्काबीच अन्तरसंवाद गरिएको थियो । वडाध्यक्षहरुले वडाको दैनिक नियमित काम र औपचारिक कार्यक्रमहरुले जनताको समस्यामा सहभागी हुन नपाएको अवगत गराएका थिए ।
वडाध्यक्षहरुले कार्यालयको कामले कर्मचारी जस्तो बस्नैपर्ने, काम गर्नैपर्ने भूमिकाले जनताको बीचमा जान नसकेको धारणा अन्तरसम्बादमा राखेका थिए । अपर्याप्त बजेट र विकासको माग धेरैले पनि समस्या देखिएको उनीहरुको गुनासो थियो । जनताको चौतर्फी विकासको माग छ, फोहोरमैला व्यवस्थापनमा पनि कठिनाई रहेको उल्लेख गरेका थिए ।
वडाध्यक्षले छुटाए यी विषयः
वडामा वेरोजगार समस्या बढेको उल्लेख गर्नै भ्याएनन् । अधिकांश समय पूर्वाधार विकास र मतदाताप्रतिको ध्यान केन्द्रीत भयो अन्तरसम्बाद । तर, सहभागी वडाध्यक्षहरुले समाजमा आगोको झिल्का झैं सल्किएको लागूऔषध दूव्र्यशनी तथा ओसारपसार, विपन्न परिवारको अवस्थाको विषय, कर्मचारीमा भ्रष्टचार मौलाएको, युवापीडि कुलतमा फसेको, समाजमा चोरी डकैतिका घटना मौलाएको, वेरोजगारीकै कारण पलायन बढेको जस्ता आम नागरिकको सरोकारका विषयमाथि एमाले वडाध्यक्षहरुले अन्तरसम्बाद विषय उठान नै नभ्याएको एकजना वडाध्यक्षले बताए । उनले जिल्लाभरका सबैको समय सापेक्ष भएकाले पनि उठाउनैपर्नै विषय छुटेको स्वीकार गरे ।
अन्तरसंवादमा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज रोमनाथ ओलीले पार्टी कार्यक्रम र जनप्रतिनिधिबीचको अन्तरसम्बादबारे सहजीकरण गर्दै वडाध्यक्षहरुले आगामी दिनमा योजनावद्ध भएर कार्यसम्पादन गर्न सूझाव दिए । उनले वडाका सबै कामको योजना बनाएरमात्र अघि बढे सफलता हासिल हुने र आम नागरिक पनि नजिक हुने भएको बताए ।
एमाले झापाका अध्यक्ष प्रेम गिरीले आगामी निर्वाचनका सन्दर्भमा सहजीकरण गरेका थिए । उनले अहिलेको वडाध्यक्ष जनप्रतिनिधिको कामले नै ०८४ मा परिणाम हात पर्ने धारणा राखेका थिए । उनले भूमि समस्याका बारेमा समेत वडाहरुको दायित्वका बारेमा सहजीकरण गर्दै उत्कृष्ट सेवा प्रवाहमा ध्यान पुर्याउन आग्रहसमेत गरे । जनताको आशा र भरोसा नै एमालेसँग छ, उनले भने– ‘त्यो भरोसा तपाईहरुले पुरा गर्नुपर्छ ।’ भुमि समस्या समाधान आयोग झापाको सदस्य रेणुका भुर्तेलले धनीपुर्जा वितरणको प्रगति, आवश्यक प्रक्रिया र पार्टीको सहयोगको बारेमा सूझाव दिइन् ।
स्थानीय विकास विभागका प्रमुख शिव ढुङगेलले वडाध्यक्षहरुलाई वडाको कार्यसम्पादनको क्रममा धेरै किसिमका प्राविधिक र प्रक्रियागत कठिनाईहरुमा सहयोग पुर्याउन आवश्यक ठानेर सहजीकरण गरिएको उनको भनाई थियो । विभागका सचिव नगेन्द्रप्रसाद संग्रौलाले सञ्चालन गरेको अन्तर संवाद कार्यक्रममा स्कुल विभागमा सचिव विजय तिम्सिनाले वडामा आइपर्ने अवरोध र प्रचार विभागका सचिव प्रदीप परियारले प्रभावकारी प्रचारका विषयमा सहजीकरण गरेका थिए ।





















































