बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघको अध्यक्षमा दिपक नेपाल सर्वसम्मत चयन भएका छन् । शनिवार बिर्तामोडमा सम्पन्न महासंघको पाँचौं महाधिवेशनले नेपाललाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो । नेपाल पाँचथर निवासी हुन् । अधिवेशनले बरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद चिमरिया, उपाध्यक्षहरु मात्रिका घिमिरे, शुजित बंशल र कुशुम दहाल, महासचिबमा प्रज्वल बिमली, सचिब संजिव घिमिरे र प्रेम राई र कोषाध्यक्षमा रामकृष्ण बिष्टसहित ३५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरिएको महाधिवशेनमा विभिन्न विधामा पुरस्कार तथा सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा उत्कृष्ट किसानतर्फ ताप्लेजुङका विजय खाकी, उत्कृष्ट व्यवसायीतर्फ विदुर तिवारीलाई प्रदान गरिएको थियो भने स्वर्गिय देवीप्रसाद भट्टराई स्मृति सम्मान व्यवसायी रोशनलाल अग्रवाललाई प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट शाखाको रुपमा संखुवासभालाई सम्मान गरिएको थियो । उक्त सम्मान संखुवासभा जिल्ला अध्यक्ष कुमार श्रेष्ठले ग्रहण गरेको थियो । त्यसैगरी उत्कृष्ट निर्यातकर्ताको पुरस्कार बिर्तामोडका व्यवसायी ओमकृष्ण विमलीलाई प्रदान गरिएको थियो भने अलैंची व्यवसायी महासंघका कार्यालय प्रमुख अनिल ढुंगानालाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित गरिएको थियो । कार्यक्रममा सहज टिम लिडर रिमा श्रेष्ठलाई सम्मेत सम्मान गरिएको थियो । सबै सम्मानित र पुरस्कृतलाई मुख्यमन्त्री कार्कीले दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो ।

अलैंची खेती सम्बन्धी बिस्तृत जानकारी समेटिएको पुस्तक समेत विमोचन गरिएको महाधिवेशन महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव नारायण प्रसाद चिमरियाले गरेका  थिए ।