आज कुशे औँसी । कुशे औंसीको दिनलाई बुबाको मुख हेर्ने औँसी दिनको रुपमा मनाइन्छ । कुशे औंसीको छुट्टै महत्त्व छ । त्यस्तै आजको दिन जन्मपिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन रुपमा मनाइन्छ । संसारमा जसरी बिहानी र साँझ आउँछ । त्यस्तै क्रमसँगै जीवन बढ्दै गएर कहिले बुबा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको भूमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।
चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुबाको हात समातेर तोते बोली बोल्दै लरबराएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ । त्यसरी ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुबा । सायद, शब्दले व्याख्या गर्न सकिन्न । तिनै बुबाहरूको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला ! जे होस् आमा–बुबा नै यस जगतका देख्न सकिने भगवान् हुन् । आजका दिन पृथ्वी लोकका सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटी–कोटी नमन गरौँ ।‘यी छोराछोरी बढ्लान् । कमाई गर्लान् र दूध भात देलान् मलाई’ भनेर हरेक आमा–बाबुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन् । सानामा आफूले थाङ्ना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरूले पछि हुर्किएर आफूलाई दूध भात अर्थात् मिठो पोसिलो खानेकुरा देलान् र माया गरेर राख्लान् भन्ने आशा हुन्छ ।
जन्मपिता औंसी महत्त्व:
आजको दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्छन् भने भौतिक रूपमा अस्त भइसकेका पिताहरूलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न धार्मिक पीठ, देवालय जस्तै: गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णु पादुका तथा सुनसरीको वराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्थान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सीधा दान गरी आध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्छन् ।
वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती हो जसको वैज्ञानीक महत्व पनि प्रमाणीत भइसकेको छ । वैज्ञानीक भाषामा Eragrostis cynosuroides भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पती कुशको जराबाट बिभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । परापूर्वकालमा पाठशालामा अध्यनरत शिष्यशिष्याहरुको परीक्षा लिने क्रममा कुशको धारीलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो, यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्छ उसलाई अव्बल मानिन्थ्यो । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो ।
कुशको महत्त्व:
आज औंशी अर्थात चन्द्रबिनाको चूक झै अँध्यारो रात, आजको दिनमा कुशलाई घरमा ल्याइन्छ । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ । हिन्दूधर्मको दैनिकी र संस्कारहरु अत्यन्तै वैज्ञानिक छन्, गीता र वेद नै आविष्कारका जननि हुन् । आधूनिकताको खोल ओढेर सनातन संस्कारउपर खिस्सीट्यूरी गर्ने जमातले पनि अहिले सनातन संस्कार र व्यबहारीक पक्षलाई घनीभूत आत्मसाथ गर्न थालेका छन् ।
एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठि कुशलाई बिकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइयो । यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यबहारीक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिकरुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औंठीहरु र अन्य सांस्कृतिक प्रयोगमा पीढि दर पीढि हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहीत गर्दछ । दाहिँने हातको औंलामा कुशलार्इ औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विश्वाश र विज्ञानतः प्रमाणीत सिद्धान्तहरुले स्पष्ट पार्छन् ।





















































