झापा । झापाको कनकाई नगरपालिकाले अनाधिकृत रुपमा करारमा कर्मचारी नियुक्त गरेर ४९ लाख १६ हजार ५०९ रुपैयाँ अनियमितता गरेको पाइएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले स्थायी प्रकृतिको कामका लागि आवश्यक पर्ने तथा सेवा करारमा लिने कर्मचारीको ब्यवस्थापन गर्न पाउने व्यवस्था गरेको छ । तर, कन्काई नगरपालिकामा ७२ जना करारमा कर्मचारी कार्यरत रहेकोमध्ये १२ जना कर्मचारी बिना प्रस्ताव (अनाधिकृत) रुपमा नियुक्त गरेर अनियमितता गरेको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
स्थानीय तहले खर्च व्यहोर्ने स्रोतसमेत विश्लेषण गरी दरबन्दी प्रस्ताव गर्नुपर्ने र दरबन्दीको व्यवस्थापन सर्वेक्षण गरी सभाबाट स्वीकृत गराउनुपर्ने व्यवस्था भएपनी त्यसलाई उल्लंघन गरेको महालेखाले ठहर गरेको छ । जुनसुकै पदमा कर्मचारी आवश्यक भएपनी स्वीकृत दरबन्दीबिना कनकाई नगरपालिकाले प्रस्ताव नै नगरी आफुखुसी करारमा कर्मचारी नियुक्ति गरेको पाइएको हो । करार कर्मचारीमध्ये १ करोड ४५ लाख ६९ हजार ५०३ तलब खर्च गरेको देखिएकोमा पालिकाले स्वीकृत दरवन्दी बिनानै १० जना कर्मचारी नियुक्ति गरी ४९ लाख १६ हजार ५०९ रुपैयाँ तलव भत्ता भुक्तानी गरेकोले अनियमितता गरेको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
जसमा स्वीकृत दरवन्दी बिनाको पदमा कर्मचारी राखी तलव-भत्ता भुक्तानी गरेको उल्लेख छ । दरबन्दी भन्दा बढी कर्मचारी नियुक्ति गर्दा तथ्यसहित पुष्ट्याई तथा औचित्य पालिकाले पेशसमेत नगरेको समेत उल्लेख छ । करारमा कर्मचारी नियुक्ति गरेकोमध्ये इन्जिनियरलाई तलब भत्ता सुबिधावापत ५ लाख ६७ हजार ९५७ रुपैयाँ अनियमित रुपमा भुक्तानी गरेको जनाएको छ । त्यस्तै कम्प्युटर अपरेटरलाई ४ लाख ५१ हजार ४९० रुपैयाँ, बाल कल्याण अधिकारीलाई ४ लाख ५१ हजार ४९० रुपैयाँ, प्रसाशन सहायकलाई ४ लाख ५१ हजार ४९० रुपैयाँ, सव इन्जिनियर १/१ जनालाई ४ लाख ५१ हजार ४९० रुपैयाँ, अमिन ३ जनालाई ४ लाख ५१ हजार ४९०, अ.सव इन्जिनियर २ जनालाई १२ लाख ८३ हजार १७८ रुपैयाँ, सा प २ जनालाई ८ लाख ५५ हजार ४५२ रुपैयाँ गरी जम्मा ४९ लाख १६ हजार ५०९ रुपैयाँ अनियमितता गरेको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । उक्त अनियमित गरेको रकम वा तथ्यसहित पुष्ट्याई तथा औचित्यको कागजात पालिकाले पेश गर्न भनेको छ।





















































