सर्लाही । सर्लाहीमा शिक्षकको गोली हानी हत्या गर्ने एकजनालाई नियन्त्रणमा दिएपनि प्रहरीले सार्वजनिक गरेको छैन । गयराति शिक्षक रामपुकार यादवमाथि गोली हानी हत्या गर्नेमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेपनि दुर्घटनाबाट घाइते भएको भन्दै नामसमेत सार्वजनिक गरेको छैन । शिक्षक यादवमाथि राति साढे ८ बजेतिर घर अगाडि मोटरसाइकलमा आएका हतियारधारी समूहले अन्धाधुन्ध गोली चलाएर भागेका थिए ।
गफ गरेर बसिरहेको ठाउँमा अकस्मात आइपुगेका दुई जना अपरिचित व्यक्तिले ‘ रामपुकार भनेको को हो?’ भनेर सोधेर गोली हानेका प्रत्यक्षदर्शीले बताएका छन्।। गोली प्रहार गरेपछि उनीहरु तत्कालै मोटरसाइकल चढेर भागेका थिए। यादव केही समयअघिसम्म शिक्षण पेसामा थिए। हिजो-आज भने उनी खेती किसानी गरेर घरमै बस्दै आएका थिए।
घटनाको जानकारी पाउँनासाथ प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षक शेख हफजुल्लाहाको कमाण्डमा चारजना, इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा १९ जना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको कमाण्डमा २१ जनाको संख्यामा प्रहरी टोली घटनास्थलमा पुगेका थिए।
पक्राउ परेका व्यक्ति पनि दुर्घटनामा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए । उनको सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालबाट थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।





















































