झापा । कुवेतमा मेथानोलयुक्त मदिरा सेवन गर्दा तीन दिनभित्र नौ नेपालीको मृत्यु भएको छ। अझै केही उपचारकै क्रममा रहेको र केहीलाई डिस्चार्ज गरिएको पनि दूतावासलाई कुवेतस्थित स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

दूतावासका अनुसार मेथानोलयुक्त मदिराले नौ जनाको ज्यान गुमेको बताइए पनि मेडिकल रिपोर्ट नआउँदासम्म स्पष्ट रूपमा भन्न सकिने अवस्था भने छैन। कुवेतस्थित स्वास्थ्य मन्त्रालयले मेथानोल मदिराका कारण ९ नेपालीसहित एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक गरेको छ।

कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित भए पनि लुकिछुपी उत्पादन गरी अवैधानिक बेचबिखन हुने गर्छ। मेथानोल मदिरा सेवन गरेर मृत्यु हुने र गम्भीर बिरामी हुनेमा अधिकांश मजदूर छन्। यो रक्सी सस्तो हुने हुँदा मजदूरको प्राथमिकतामा छ।

मेथानोलयुक्त पेय पदार्थ पिउँदा टाउको दुखाइ, बान्ता, दृष्टि धमिलो हुने, कोमामा पुग्ने लक्षण देखिन्छ भने व्यक्तिको मृत्यु समेत हुनसक्छ ।