बिर्तामोड । कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार रमा भण्डारी पुरस्कृत भएकी छन् ।

अग्रज पत्रकार नेत्र पाठकको स्मृतिमा स्थापना गरेको लेखनवृत्ति पुरस्कारबाट भण्डारी  पुरस्कृत भएकी हुन्  ।

प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको तीज बिशेष तथा पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईले लेखनवृत्तिसहित सम्मानपत्रद्वारा पुरस्कृत गरेकी थिइन् । पुरस्कार हस्तान्तरणपछि बोल्दै प्रमुख मेयर प्रसाईंले अग्रज पत्रकार नेत्र पाठकलाई ताजा बनाउनुका साथै प्रतिभाशाली पत्रकारलाई सम्मानित गरेको बताइन् ।

प्रेस चौतारी झापाले सोही समारोहमा नारी सञ्चार गृहका नवनिर्वाचित कार्य समितिलाई स्वागत तथा तीजको अवसरमा महिला पत्रकारहरुलाई दर खुवाएको थियो ।

चौतारीका झापा अध्यक्ष प्रदिप परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य गणेश पोखरेल, प्रेस चौतारी नेपालका कोशी प्रदेश सहइञ्चार्ज गोपाल काफ्ले, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, चौतारीका केन्द्रीय सदस्य सावित्रा दाहाल, पूर्व केन्द्रीय सदस्य भीमा शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।