बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष नेत्रप्रसाद पाठकको स्मृतिमा स्थापना गरिएको लेखनवृत्ति पत्रकार रमा दाहाललाई प्रदान गरिनेभएको छ । 
प्रेस चौतारी नेपाल झापाको मंगलबार बसेको बैठकले दाहाललाई लेखनवृत्ति प्रदान गर्ने निर्णय गरेको हो । पत्रकार दाहाल कान्तिपुर टिभीको झापा प्रतिनिधि हुन् ।
गत साउन ११ गते सम्पन्न जिल्लाको बैठकले प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार संयोजक र इञ्चार्ज मनकुमार गदाल र सचिव युवराज आचार्य सदस्य रहेको छनोट समितिले उक्त निर्णय गरेको हो । सो छनोट समितिले गरेको सिफारिसलाई जिल्ला कमिटीको बैठकले स्वीकृत गरेको हो ।
जिल्लामा पछिल्लो ६ महिनामा प्रकाशित तथा प्रसारित समाचारहरु संकलन गरेर लेखनवृत्तिका लागि छनोट समितिले उत्कृष्ट समाचार लेख्ने पत्रकारको नाम जिल्लालाई सिफारिस गरेको थियो । दर्जनौं उत्कृष्ट समाचारहरुमध्येबाट पत्रकार दाहाललाई छनोट गरिएको अध्यक्ष परियार बताए ।  पत्रकार दाहालले बाह्रदशी गाउँपालिकामा मुस्लिम, मधेशी समुदायका महिलाहरुको न्यायमा पहुँच नपुगेको विषयलाई प्राथमिकता दिएर उठान गरिएको समाचारको आधारमा छनोट गरेका अध्यक्ष परियारको भनाई छ ।
प्रेस चौतारी झापाले हरेक ६÷६ महिनामा उत्कृष्ट समाचारका आधारमा संस्थापक अध्यक्षको नाममा स्थापित लेखनवृत्ति दिने निर्णय थियो । सो निर्णयका आधारमा दाहाललाई लेखनवृत्ति प्रदान गर्न लागिएको चौतारीका झापा सचिव आचार्यले जानकारी दिए । लेखनवृतिका राशी भने खुलाएको छैन । 
लेखनवृत्ति साउन ३० गते आयोजना गरिने कार्यक्रममा प्रदान गरिने बताइएको छ । सो अवसरमा नारी सञ्चार गृह झापामा निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन र तीज मिलन कार्यक्रम सम्पन्न गरिने प्रेस चौतारी झापाले जनाएको छ । यसअघिकै बैठकले लेखनवृत्तिलाई व्यवस्थित गर्न केन्द्रीय सदस्य सावित्रा दाहाल, फाँट इञ्चार्ज मनकुमार गदाल र पत्रकार महासंघ कोशी उपाध्यक्ष अम्बिका भण्डारीलाई कार्यविधि बनाउन जिम्मेवारी दिएको थियो ।
बैठकले बुधबार दमकस्थित सर्वोदय माविमा सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय समेत गरेको उपाध्यक्ष राजु पोखरेलले जानकारी दिए ।