मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको परिवारलाई जीविकोपार्जनका लागि आय–आर्जनसँग जोड्न समूह गठन गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई जीविकोपार्जनका लागि आय–आर्जनसँग जोड्न नगरको १५ वटै वडामा मिलीजुली समूह गठन गरिएको छ । मिलीजुली समूहमा अपाङ्गता भएका व्यक्ति नै अध्यक्ष लगायतको २५ जनाको समूह सञ्चालनमा रहेको छ ।
नगरपालिकाले सबै वडाको उक्त समूहलाई ५० हजारका दरले सात लाख ५० हजार बजेट छुट्टाएको छ । उक्त रकम, समूहको सदस्य र उनीहरुका परिवारले थोरै थोरै पैसा जम्मा गरेर सहकारी प्रक्रिया अन्तरगत जीविकोपार्जनका गर्न सक्ने योजना नगरपालिकाको छ । मिलीजुली समूहलाई नै कानून अनुसार दर्ता गरेर सहकारी नियमबाट चलाउन सकिने छ ।
यसलाई विउँ पुँजीका रुपमा सहयोग र्शीषकमा मिलीजुली समूह सञ्चालन र दीगो व्यवस्थापनका लागि मार्ग दर्शन २०८१ परिच्छेद–५ मा कार्यक्रम कार्यान्वयन विधि बनाइएको छ । अपाङ्गता भएका व्यक्तिलाई मिलीजुली समूहको बैंक खाता, वडापिछे नविकरण, छुट्टै हिसाव राख्न, मासिक वैठक, बचत संकलन, ऋण परिचालन लगायतका अनेकौँ समस्या भएपनि सुरक्षित र दीगोपनका लागि यसले ठुलो मद्दत पुग्ने छ । विगत ५ वर्षमा कोशी प्रदेशका अन्य जिल्लामा यसको अभ्यास गरिसकिएको छ ।
कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, मेचीनगर नगरपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षिय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम हो । कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले अपाङ्गताको क्षेत्रमा सक्ने गरिरहेकोले यसको प्रतिफल पनि आशलाग्दो गरी आइरहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती लगायतलले द्रुतगतिमा काम गरिरहेको बताएका छन् । सोही अवसरमा अपाङ्गता भएका व्यक्ति, मिलीजुली समूह र उनीहरुको परिवारलाई सहकारी मार्फत जीवीकोपार्जनका लागि आय–आर्जनसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा करुणा फाउण्डेशन नेपाल अन्तरगतको जीविकोपार्जनका फाँटका वरिष्ठ अधिकृत माधव चौरेल र नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले प्रशिक्षण दिएका थिए ।
यस आर्थिक वर्ष २०८२÷०८३ का लागि सोमबार सहकारी शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको करुणा फाउण्डेशन नेपालका मेचीनगर संयोजक पदम बराइलीले जानकारी दिए ।उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।





















































