बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला र वडा नम्बर -८ का वडाध्यक्ष अजय कार्कीबीचको फेसबुके विवादलाई लिएर स्थानीय राजनीतिक दलहरु आन्दोलित बनेका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रमुख संग्रौलालाई कार्वाहीको मागसहित कार्यालयअगाडि नाराजुलुस लगाउँदै शान्तिपुर्ण तरिकाले आन्दोलित बनेका हुन् । ‘सामाजिक संजालको दुरुपयोग बन्द गर, बिर्तामोडका अराजक उपमेयरलाई कारबाही गर, अराजक उपमेयर मुर्दाबाद, सत्ताको आडमा गरिने गुण्डागर्दी बन्द गर’ जस्ता नारा लगाएका थिए ।
नाराजुलुससहित बाक्लो संख्यामा आएका आन्दोलनकारीलाई नेपाल प्रहरी र नगर प्रहरीले नगरपालिकाको गेटभित्र प्रवेश गर्न रोक लगाएका थिए । कार्यालय परिषरभित्र प्रवेश गर्न नपाएपछि गेट बाहिर उनीहरुले नाराजुलुस र कोणसभा गरेका छन् ।
नवदुर्गा मन्दिर परिसरमा भेलापछि राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतमको नेतृत्वमा करिव एक सयजनाको उपस्थितिमा शान्तिपुर्ण बिरोध र्याली र नाराबाजी गरेका थिए ।
यसैबीच नगरपालिकाका उपमेयर नगेन्द्र सग्रौलालाई कार्यालयमै धम्कीदिने वडाध्यक्ष कार्कीलाई कार्वाहीको माग राख्दै नेकपा एमाले बिर्तामोड नगर कमिटीले प्रेस बिज्ञाप्ति निकालेको छ ।





















































