झापा । कृषकलाई मल आपूर्तिको ब्यवस्था मिलाउन आग्रह गर्दै योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपालले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत मुलुकभर क्रियाशील रहेको वाइसिएलले सरकारलाई किसानप्रति उत्तरदायी हुन र मल आपूर्तिमा देखिएको चरम समस्या तुरुन्त समाधान गर्न आग्रह गरेको हो ।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार हाल मुलुकभर वर्षा याम सुरु भइसकेको अवस्थामा पनि किसानहरू मलको चरम अभावका कारण खेती गर्नबाट बञ्चित भइरहेका छन् । पटकपटकको सरकारी आश्वासनपछि पनि मल आपूर्ति सहज नहुनु योजनाबद्ध ढंगले सिर्जित समस्या भएको वाइसिएलको आरोप छ।

सरकारले समयमा मल आपूर्ति गर्न नसक्नु, पहुँचको आधारमा वितरणमा असमानता देखिनु, दलाल तथा विचौलियाको संलग्नतामा कालोबजारी हुनु जस्ता कारणले किसानहरु आक्रान्त बनेको वाइसीएलको आरोप छ ।

ज्ञापनपत्रमार्फत वाइसिएलले चाँडै समस्या समाधान नभए राष्ट्रव्यापी आन्दोलनको घोषणा गरिने चेतावनीसमेत दिएको छ । “वाइसिएल नेपाल आफ्नो अभियानलाई अब देशव्यापी बनाउँदै आन्दोलनको स्वरूप दिनेछ,” ज्ञापनमा उल्लेख छ।

यता, इलाममा वाइसीएल जिल्ला अध्यक्ष डिवन राईको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको हो ।