झापा । चारदिन अघिदेखि हराएका झापा गाउँपालिका-१ का एक बृद्दाको स्थानीय सानो माई खोलामा डुबेर मृत्यु भएको छ । झापा गाउँपालिका- १ सितुमारी बस्ने ८१ वर्षीय भीमबहादुर भुजेल सुगुरलाई दानाका लागि पिँडालु लिन सानो माई खोलाको किनारबाट लडेर त्यहीँको पानीमा डुवेर मृत्यु भएको प्रहरीको अनुमान छ । उनी साउन ७ गते घरमा पालेको सुँगुरको लागि डोको लिएर पिँडालुको बोट काट्न निस्किएका थिए ।
घर नफर्किएपछि खोजी गर्ने क्रममा आज बिहान ९ बजे मृतकका भान्जा बुद्धराज राईले शव फेला पारेका थिए । डोकोदेखि करिव ५० मिटर टाढा भुजेलको शव फेला परेको हो । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















































