काँकरभिट्टा । नेकपा एमालेले झापाको काँकरभिट्टाको वीपी–पुष्पलाल बाटिकामा पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस मनाएको छ । नेकपा एमाले क्षेत्रीय र मेचीनगर कमिटीले संयुक्त रुपमा आयोजना गरेको समृति दिवस मनाएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसमा एमालेका उपल्लो तहका नेता तथा स्थानीय तेना तथा कार्यकर्ताहरुले पुष्पलाल र वीपी कोइरालाको पूर्णकदको सालिकमा माल्यार्पण गरेर कार्यक्रम सुरु गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाईले केही व्यक्ति र विपक्षीहरुको सल्लाहमा सम्मानीत व्यक्ति पार्टीमा आउन नहुने बताए ।
प्रसाईले एक पटक राष्ट्रपति भइसक्नुभएकी विद्या भण्डारी पार्टीमा आउन नहुने बताएका थिए । उनले डा.शेखर कोइराला, बालेन साह, भीम रावल, नारायण काजी श्रेष्ठ, माधव नेपाल, बामदेव गौतम लगायतका नेताहरुको कुरा सुनेर पार्टीमा अध्यक्ष बन्छु भन्दै पूर्व राष्ट्रियपति भण्डारी आउनु गलत भएको दावी गरे ।
कार्यक्रममा एमाले झापा अध्यक्ष प्रेम गिरीले वर्ग मुक्ति आन्दोलनका अग्रज श्रष्ठा पुष्पलालको अर्को सन्तान अर्थात् सच्चा अनुयायी भनेको नै केपी शर्मा ओली बाहेक कोही हुन नसक्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य हरिचरण बानियाँ, एमाले कोशी प्रदेश सदस्य एवम् मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, नगर इन्चार्ज देवकुमार राई, पार्टी, राष्ट्रिय युवा संघ, मजदुर फाँट लगायतका जिल्ला, क्षेत्र, नगरका नेता, कार्यकर्ताहरुकोबाक्लो उपस्थिति रहेको थियो । एमाले क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष कृष्ण कनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मेचीनगर अध्यक्ष राजु कार्कीले र सञ्चालन क्षेत्रीय सचिव राजु पोखरेलले गरेका थिए ।





















































