झापा । झापाको हल्दिबारी गाउँपालिका-४ का पुण्यप्रसाद ओलीको घरमा खाना पकाउने एलपी ग्यास चुहिएर आगलागी हुँदा चार जना घाइते भएका छन् ।
ओलीको दुई तले घरको माथिल्लो तलामा रहेको भान्सा कोठामा रोटी पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगो सल्किएको थियो । आगो नियन्त्रण गर्ने क्रममा एकै घरका चार जना घाइते भएका हुन् ।भान्सामा सल्किएको आगो निभाउने क्रममा सोही घरका ६० वर्षीय पुण्यप्रसाद ओली, उहाँको ३३ वर्षीय जेठो छोरा सन्तोष ओली, ३२ वर्षीय बुहारी अनिता ओली र २० वर्षीय कान्छो छोरा आर्यन ओली घाइते भएका हुन् । घाइते चारै जनाको शरीरको विभिन्न भागमा आगोले पोलेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए ।
घाइते चारै जनालाई भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारपछि बिराटनगर रेफर गरिएको बताइएको छ ।
विहान पौने ९ बजेतिर भान्सा कोठामा ग्यास चुहावट भएर आगलागी भएको थियो । आगलागीबाट भान्सा कोठामा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।
यसैगरी, कचनकबल गाउँपालिका- ६ बनियानीको एक घरमा सिलिन्डरबाट ग्यास चुहावट हुँदा आगलागी भएको छ । रतनलाल राजबंशीको भान्सा घरमा सोमवार सिलिन्डरबाट ग्यास चुहावट हुँदा आगलागी भएको छ ।
प्रहरीका अनुसार उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन । तर, भान्सा कोठामा रहेको फ्रिज एक थान, पानी तान्ने मोटर एक थान, भान्साको जस्ता छाना र चुल्हो डढेर क्षति भएको छ ।
आगलागी भएको खबर पाएपछि बनियानीबाट खटिएको प्रहरी टोलीले स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण गरेको थियो ।





















































