झापा । कामको सिलसिलामा भारतको गुजरात पुगेका पाँच नेपाली मजदुरलाई सकुसल उद्धार गरिएको छ ।

भारत गुजरातको जोहरापुरा गाउँस्थित रामदेव कोल्डस्टोरमा ठेकेदारले कुटपिटसहित मानसिक तथा शारीरिक यातना दिनेगरेको र सम्झौताअनुसारको पारिश्रमिक दिनुको सट्टा कार्यक्षेत्रमा डरधम्की देखाई श्रम शोषणमा परेका पाँच जना नेपालीलाई उद्दार गरिएको हो ।

सप्तरी जिल्ला तिरहुत गाउँपालिका र हनुमाननगर कङ्काल्नी नगरपालिकाको पहलमा मजदुरको उद्धार गरी उनीहरूलाई परिवारसमक्ष जिम्मा लगाइएको हो ।

तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवका अनुसार तिरहुतका–४ का ६० वर्षीय सकलदेव सदा र हनुमाननगर कङ्कालिनी–८ का २८ वर्षीय चन्दन खङ्ग एवं शैलेन्द्र सदासहित पाँच जनालाई सकुशल उद्धार गरिएको हो ।

अध्यक्ष यादवले पीडित मजदुरहरूको उद्धार गरी नेपालसम्म ल्याउने काममा सञ्चारकर्मीसमेत रहनुभएका साइबर सुरक्षा विश्लेषक कुमार अभिनवको सक्रियता तथा नेपाल राष्ट्रिय मुसहर सङ्घको सहयोग र समन्वयमा उहाँहरूलाई उद्धार गरिएको स्पष्ट परेका छन् ।