झापा । खानेपानी महशुलमा लगाएको आयकरमा छुटको ब्यवस्था हुनुपर्ने माग राख्दै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले नेपाल सरकारलाई  पत्र बुझाएको छ । 

पिउने पानीलाई नेपालको संविधान र संयुक्त राष्ट्रसंघको महासभाले मौलिक हकका रूपमा राखेकाले कर लागाउनु नहुने भन्दै जिल्ला प्रशासन कार्यालय झापामार्फत नेपाल सरकारलाई सोमबार महासंघले ज्ञापन पत्र बुझाएको हो  ।

झापा जिल्ला खानेपानी महासंघले प्रमुख  जिल्ला अधिकारी गोपाल अधिकारीमार्फत ज्ञापन पत्र पठाएको सचिव बाबुराम कार्कीले जानकारी दिए । झापा जिल्लामा सञ्चालित एक दर्जनबढी खानेपानी उपभोक्ता संस्थाका प्रतिनिधिहरू सम्मीलित टोलीले ज्ञापन पत्र बुझाएका थिए ।

‘संयुक्त राष्ट्रसंघको महासभाले २८ जुलाई २०१० मा खानेपानीलाई मानव अधिकारका रूपमा परिभाषित गरेको छ भने नेपाल सरकारको संविधानको धारा ३५, उपधारा ४ मा खानेपानीलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ’, प्रधानमन्त्रीसमक्ष पेश गर्न बुझाइएको ज्ञापन पत्रमा भनिएको छ ।