झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एकैदिन  चार वटा कार्यक्रमको उद्घाटन गरेका छन् । झापाको बुद्धशान्ति गाउँपालिकाको अस्पताल, इलामको माई नगरपालिकाको अस्पताल र इलामको खानेपानी आयोजना र कन्काईमा धनीपुर्जा बितरण गरेका हुन् ।

भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालको सिलालेख अनावरण तथा भवनमा रिवन काटेर प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । प्रम ओलीले रिबन काट्ने बेलामा भागिरथा न्यौपानेका छोरा कुलप्रसाद न्यौपाने र जेठी बुहारी गंगादेवी न्यौपानेलाई पनि रिवन काट्न भनेपछि सामुहिक रुपमा उद्घाटन गरिएको थियोे ।

२०७७ जेठ ३२ गते नेपाल रेडक्रस सोसाइटीको सानो भवनबाट सेवा शुभारम्भ भएको उक्त अस्पताल अहिले १० शैय्यामा सञ्चालित छ। अस्पतालले बिमा सुविधा, ल्याब, इको, भिडियो एक्सरेलगायत सुविधा उपलब्ध गराउने गरेको छ।

गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठक उक्त अस्पतालको नाम भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल स्वीकृति प्रदान गरेपछि स्वीकृत नामसहित अस्पताल भवनको शनिवार विधिवत उद्घाटन गरिएको हो । प्रधानमन्त्री ओलीले संघीय सरकारका तर्फबाट सकेसम्म सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन्।    

त्यसैगरी इलामको माई नगरपालिकाद्वारा नवनिर्मित १५ शैयाको नगर अस्पताल उद्घाटन गरेका छन् भने इलाममै बृहत खानेपानी आयोजनाको शिलालेख अनावरण तथा रिवन काटेर उद्घाटन गरेका छन् ।

त्यसैगरी कन्काई नगरपालिकाले आयोजना गरेको कार्यक्रममा १ सय ७६ जना भुमिबिहिनहरुलाई प्रम ओलीले धनीपुर्जा वितरण गरेका हुन् ।