झापा । झापाको बिर्तामोड डेंगु संक्रमणको ‘हटस्पट’ बनेको छ। जिल्लाभर देखिएका कुल डेंगु संक्रमितमध्ये अधिकांश बिर्तामोडकै रहेका छन्। तथ्यांकअनुसार, जिल्लाभर ७५ जना डेंगु संक्रमितमध्ये ६८ जना बिर्तामोडका हुन्। यसबाहेक, गौरादहमा ६ जना र दमकमा एक जना संक्रमित फेला परेका छन्।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले डेंगु संक्रमितहरूको संख्या दिन प्रतिदिन बढिरहेको बताए । गत साता बिर्तामोडमा ४८, दमकमा १ र गौरादहमा ६ गरी कुल ५४ जना डेंगु संक्रमित रहेका थिए, जसले एक सातामै संक्रमणको दरमा उल्लेखनीय वृद्धि भएको देखाउँछ।

गत साता झापामा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको थियो। बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत शिवसताक्षीकी ११ वर्षीया सुरविरा राईको डेंगुका कारण मृत्यु भएको हो। गत वर्ष झापामा डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको थियो।

मनसुन सुरु भएसँगै झापामा डेंगु संक्रमितको संख्या बढ्न थालेको छ। सामान्यतया डेंगु असार, साउन, भदौ र असोजसम्म बढी देखिने भए पनि झापामा बाह्रै महिना डेंगुका बिरामीहरू फेला पर्ने गरेका छन्। डेंगु नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ।