बिर्तामोड । नारी सञ्चार गृहले ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’ राससकि पत्रकार अम्बिका भण्डारी र नारी सञ्चार युवा पत्रकारिता पुरस्कारबाट नयाँ पत्रीका दैनिकका पत्रकार चिरञ्जीवी घिमिरेलाई पुरस्कृत गरेको छ ।
गृहले पद हस्तान्तरण कार्यक्रमबीच पत्रकार अम्बिका भण्डारी नगद एक लाख र पत्रकार घिमिरेलाई नगद २५ हजार तथा सम्मान पत्रद्वारा पुरस्कृत गरेको हो। कार्यक्रमका प्रमुख अतिथि बिर्तामोडकी नगरप्रमुख पवित्रा महतरा प्रसाईले भण्डारीलाई पुरस्कार प्रदान गरेकी थिइन् ।
राष्ट्रिय समाचार समिति झापाकी विशेष समाचारदाता, लोकतन्त्र पोस्ट अनलाइनकी सम्पादक भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष समेत हुन् भने पुरस्कृत घिमिरे नयाँ पत्रिका दैनिकका झापा समाचारदाता हुन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पुरस्कृत प्रतिभाको तर्फबाट पत्रकार भण्डारीले लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । सो अवसरमा पुरस्कृत प्रतिभाको परिचय नारी सञ्चार गृहकी पूर्व अध्यक्ष भीमा शिवाकोटीले र पुरस्कृत हुनेहरुको घोषणा पूर्व अध्यक्ष सावित्रा दाहालले गरेकी थिइन् ।
कार्यक्रममा निवर्तमान कार्य समितिकी अध्यक्ष गौतमले नयाँकार्य समितिकी अध्यक्ष स्वस्तिका आचार्यलाई माइन्यूट दिएर पद हस्तान्तरण गरेकी थिइन् । नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष जोसना श्रेष्ठले र सञ्चालन सचिव मायामितु न्यौपानेले गरेकी थिइन् ।





















































