झापा । कारोबारको आधारमा हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था बबरमहल काठमाडौँले २४ औँ साधारणसभामा कार्यप्रगतिको आधारमा संस्थालाई उत्कृष्ट घोषितपछि प्रसंशापत्रद्वारा सम्मानित गरेको हो । संस्थाले १७ सय साझेदारी संस्थामध्ये हाम्रो नेपाल साकोसलाई उत्कृष्ट घोषणा गर्दै आइतबार प्रसंशापत्र प्रदान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री डा . युवराज खतिवडा, सो वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठक, प्रमुख कार्यकारी शिवरामप्रसाद कोइराला लगायतले हाम्रो नेपालका अध्यक्ष भवानीप्रसाद दङ्गाललाई संयुक्त रूपमा फूलमाला, खदा, अविरसहित प्रशंसापत्रद्वारा सम्मानित गरेका थिए ।
कारोबारको आधारमा उत्कृष्ट घोषणा भएको हाम्रो नेपालले वार्षिक अढाई अर्ब बढीको आर्थिक कारोबार गर्दै आएको छ । झापा, मोरङ र इलाममा ३१ वटा सेवाकेन्द्र मार्फत सेवा प्रवाह गर्दै आएको हाम्रो नेपालको सेयर सदस्य ३८ हजार बढी छन् । १२ वर्ष अघिबाट सञ्चालनमा आएको हाम्रो नेपाललाई २०८१ साउनदेखि २०८२ जेठसम्मको कारोबारका आधारमा उत्कृष्ट व्यवसायिक साझेदार घोषणा गरेको हो ।





















































