झापा । नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधिको रक्षा गरेको छ। शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधिको रक्षा गरेको हो । नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि उचालेको थियो।

सिंगापुरले दिएकाे ११४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनायाे। योसँगै सिंगापुर समूह चरणको हारको बदला लिन फेरि चुकेको छ। 

यही प्रतियोगितामा भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै समूह विजेता बनेको थियो। नेपाललाई जीत गर्न जोय थापाले अविजित रहँदै सर्वाधिक २४ रन बनाए। ५३ बल खेलेका उनले ३ चौका  प्रहार गरे । अभय यादव १० रनमा अविजित रहे।

नेपालले ५८ रन बनाउँदा नै ५ विकेट गुमाइसकेको थियो। तर, जोयले सम्हालिँदै नेपाललाई जित दिलाए।  जोयले शुभम खनालसँग ३३ र अभयसँग अविजित २५ रनको साझेदारी गरेका थिए।

नेपालका शिवान्स बजगाईं २०, शुभम खनाल १८, प्रशिद्ध जैशी १७ र परिमार्जन यादव १३ रनमा पभलियन फर्किए। सिंगापुरका कपिस वैंकटरमनले सर्वाधिक ४ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ६ ओभरमा जम्मा १८ रन दिए। युवान पाण्डेको नाममा २ तथा वेदांश गुप्ता र आकाश तेजाले समान २ विकेट लिए।