मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि १३ करोड बढी अल्या तानेर १ अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज सुरु भएको दोस्रो नगरसभाको सातौं अधिवेशनमा  उपप्रमुख मिना पोखरेल उप्रेतीले अघिल्लो बर्षकाे अल्या गरिएको रकम १३ करोड ७४ लाख ५१ हजार ८९९ रुपैयाँ ३७ पैसा तानेर उक्त अनुमानित बजेट ल्याएको हो ।
गत आर्थिक वर्षमा सार्वजनिक गरिएको बजेटभन्दा केही बजेट थप भएपनी नयाँ बिषयमा खास नीति तथा योजनामा समावेश गरिएको पाइदैन । नगरले बिगतका योजनालाई नै निरन्तरता दिइएको छ भने बाटो, कल्भर्ट, मन्दिर, भवन र पार्टी कार्यालय  निर्माणलाई बढी प्राथमिकता दिइएको पाइएको छ ।
झापा जिल्लाकै सबैभन्दा धेरै बजेट भएको पालिका भएपनी उपयुक्त कार्यक्रम समेट्न नसकेको सरोकारवालाको भनाई छ ।
सीप विकास, सामाजिक विकास, स्वास्थ्य तथा जनसंख्या सम्बन्धि नीति, युवा खेलकुद तथा सामाजिक विकास सम्बन्धि नीति, लघु उद्यम विकास लगायतमा प्रबर्द्धन तथा विकास योजना   समावेश गर्ने अनुमानित कार्यक्रम ल्याएपनी उत्पादन, प्रशोधन तथा युवा स्वरोजगारका कार्यक्रम भने समावेश गरेको पाइदैन ।
कृषकलाई उत्पादनमा प्रोत्साहन, बीउ-बिजन सुधार, युवाको योग्यता र क्षमताका आधारमा रोजगार प्रदान र आत्मनिर्भर बन्ने खालका बिषयमा बजेट, नीति तथा कार्यक्रममा उल्लेख गरेको पाइदैन ।
बजेटमा नगरस्तरीय योजनातर्फ २८ करोड १५ लाख २ हजार ५४० रुपैयाँ बिनियोजन गरिएको छ भने वडास्तरीय योजनाका लागि १६ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ ।
त्यसैगरी संघबाट बित्तीय हस्तान्तरणमार्फत बिषयगत सशर्त अनुदानतर्फ ४८ करोड ५० लाख, संघीय शसर्त अनुदान पुँजीगत तर्फ ३५ करोड २२ लाख, संघीय बिषेश अनुदान चालू १ करोड २३ लाख, प्रदेश शसर्त अनुदान चालू ९८ लाख ८२ हजार, प्रदेश शसर्त अनुदान पुँजीगत १ करोड ६६ लाख रुपैयाँको अनुमानित ब्ययतर्फ उल्लेख छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षमा सम्पन्न भएको थियो ।