काँकरभिट्टा । रिडर्स झापाले आयोजना गरेको `कला तथा साहित्य उत्सव-२०८१´को आयब्यय सार्वजनिक गरेको छ ।
गत २०८१ फागुन १४ देखि १६ गतेसम्म मेचीनगरका छुट्टाछुट्टै पर्यटकीय स्थलहरुमा आयोजित `कला तथा साहित्य उत्सव-२०८१´ को आम्दानी र खर्च सार्वजनिक गरेको हो ।
आयोजक समितिका संयोजक सागर शिवाकोटीले शनिबार काँकरभिट्टामा पत्रकारसमक्ष १३ लाख ९७ हजार तीन सय रुपैयाँ बराबरको आयब्याय सार्वजनिक गरेका हुन्  ।
उत्सवको समयमा विभिन्न शिर्षकमा खर्च आउँदा आम्दानीभन्दा ६८ हजार ४ सय रुपैयाँ बढी खर्च भएको रिडर्स झापाका अध्यक्ष शैलेश दाहालद्वारा जारी गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
बिभिन्न संघ-संस्था तथा सामाजिक ब्यक्तिको सहयोगमा पुर्वमा पहिलो पटक नयाँ `थिम´मा आयोजना गरिएको उक्त उत्सवको लागि स्थानीय सरकारले कुनैपनि रुप सहभागिता नदेखाएको जानकारी दिइएको थियो ।
उत्सवमा चित्रकला प्रदर्शनी, नाटक मञ्चन, कविता बाचन र प्यानल डिस्कसन लगायतका कार्यक्रममा भारतको लद्दाखदेखि दिल्लीसम्मका १५ बढी कलाकारको आगमन भएको थियो । चर्चामा रहेका सोनाम वाङचुकले हिमालय क्षेत्रको पर्यावरण संरक्षणमा नयाँ प्रविधिको विकास समेत गरेका छन् ।
त्यसैगरी, कोलकाताका डा. अनिल देवले धानका दुईसय रैथाने प्रजातिको खोज अनुसन्धान र संरक्षण गरेर चर्चा पाएका छन् । उनले एक सय प्रकारका रैथाने धानको बीउ समेत उत्सवमा प्रदर्शनीका लागि ल्याएका थिए ।
पठन संस्कृतिको विकास गर्ने उद्देश्यले २०६५ सालमा रिडर्स झापाको नाममा स्थापना भएको थियो । वि.सं. २०६९ देखि प्रत्येक दुई वर्षमा चिन्तन मेलाको रुपमा कला साहित्य उत्सवको आयोजना गर्दै आएको छ ।  उत्सवलाई देही आर्ट, चरा तथा बन्यजन्तु संरक्षण समाज र परिवर्तन थिएटरले सहकार्य गरेका छन् ।