प्रकाश उप्रेती
आज `सातौँ राष्ट्रिय योग दिवस´ । देशभर योग साधना गरेर दिवस मनाएको छ । मानिसको शरीरका सबै अंग-प्रत्याङ र स्नायुतन्तु चलायमान बनाउने अभ्यास नै योगाभ्यास हो । मानव शरीरमा एक सय वटा अङ्गहरु रहेको बिश्वब्यापी मान्यता छ । हाम्रो शरीरमा मस्कुलाेस्केलेटल प्रणाली, पाचन प्रणाली, स्वासप्रस्वास प्रणाली, मुत्र प्रणाली, प्रजनन अङ्ग, रक्तसञ्चार प्रणाली, स्नायु प्रणाली, इन्टिगुमेण्टरी प्रणाली रहेका छन् ।
ती अङ्ग तथा प्रणालीलाई याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग गरेर अभ्यास गरिने प्रक्रिया हो । तर, पछिल्लो समयमा योगअभ्यासले शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई प्रेरित गरेपनी देशको अर्थब्यवस्थाकै कारण ब्यवहारिक रुपमा मानिस तनावमुक्त हुन सकेका छैनन् ।
स्वास्थ्य रहन मानिस तनावमुक्त रहनुपर्दछ । तनावले मनासिक टकाराव शृजना गर्दछ । टकरावले मानिसको शरीरको सबै अङ्ग र प्रणालीलाई असर पर्ने र बढी भए उल्टो प्रतिक्रिया देखाउने गरेको स्वास्थ्य बिज्ञ डाक्टरले बताएका छन् । स्वास्थ्य वैज्ञानिकहरूका अनुसार रोग लाग्नुको कारणमध्ये शरीरमा ‘फ्रि रेडिकल’ बढ्नु पनि एक हो । फ्रि रेडिकलले हाम्रो कोषिका तथा डीएनएलाई विकृत गर्छ । फ्रि रेडिकल बढ्ने कारणमध्ये अत्याधिक थकानयुक्त कसरत (जिम, एरोबिक, दौड आदि) पनि एउटा हो । योगको अभ्यासपछि भने शरीरमा हल्कापन आउँछ र फ्रि रेडिकल बढ्न पाउँदैन । अन्य अभ्यास तथा कसरतले शरीरको बाहिरी भाग र मांशपेसीलाई मात्र धेरै प्रभाव पार्छ भने योगले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ । हाम्रो शरीर स्वास्थ्य राख्न गुणस्तर, स्वास्थ्यकर र बिषादिरहित आहाराको आवश्यक पर्दछ ।
गुणस्तरीय आहाराले मानिसको मानसिक र बौद्धिक अवस्था तेज-स्मरयोग्य रहन्छ । तर शरीरलाई आवश्यक पर्ने आहारा गुणस्तरीयहिन र स्वास्थ्यकर नहुँदा योगाभ्यासले मात्रै शरीर सन्तुलित बन्न नसक्ने बिज्ञको भनाई छ । तसर्थ शरीरलाई आवश्यक पर्ने आहारा, रहनसहन, खानपान, उपयुक्त स्वच्छ वातावरण र तनावमुक्त अवस्थासहित योगाभ्यास गर्न सके मानिसले आयुअवधिसम्म भोग गर्न सक्ने आधारहरु छन् । योगाभ्यास गर्दा पनि ध्यानदिनुपर्ने कुराहरु धेरै छन् ।
स्वास्थ्य कै बिषयमा योगाभ्यास हुने भएकाले मानिस जन्मनुपुर्व पहिले कुन अङ्ग बनिन्छ त्यस अंगको सुरुमा अभ्यास गर्नुपर्ने बिज्ञको भनाई छ । त्यसपछि क्रमश बनिएका अङ्गको क्रमागत रुपमा योगाभ्यास गर्ने प्राकृतिक नियम रहेको उल्लेख छ । तर, विभिन्न योग समुह र केन्द्रले योगाभ्यास सिकाइको क्रममा त्यहाँ सहभागी योग गुरुले त्यस्ता बिधी र नियमको बिषयमा खास ध्यान दिइएको पाइदैन । अझ भन्ने हो भने योगाभ्यासको बिषयमा अध्ययन नै नगरी, प्राबिधिक रुपमा मात्रै गरिने अभ्यासले शरीरलाई कति फाइदा गर्छ, कति हानी ! भन्ने यकिन छैन । अझ भन्ने हो भने केही प्राबिधिक रुपमा योगाभ्यास गरेका र सिकेकाहरु नै योगगुरु बन्ने होडबाजी पनि छ । जसरी एउटा सवारी साधन चलाउन सुरुमा चाबीको आवश्यक पर्छ, त्यसपछि एक्सिलेटर,गियर जस्तै शरीरको पनि सुरुको चाबी कुन हो ?त्यसपछि क्रमश के गर्ने भन्ने प्राकृतिक विधि र नियम छ । शरीरमा हर्मोन्स तथा इन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगले ठूलो भूमिका खेल्छ ।शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक विकासका लागि योग सर्वोत्तम पद्धति हो, यसको दाँजोमा अन्य कुनै पनि शारीरिक व्यायाम आउनै सक्दैनन् । स्वस्थ्य रहनका लागि शारीरिक व्यायामका अन्य उपायभन्दा योग कैयौं गुणा फाइदाजनक रहेको अभ्यास र अनुसन्धानले नै देखाएको कुरा हो ।
योग मात्र यस्तो अभ्यास हो, जसका हरेक अभ्यासमा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ । योगका लागि धेरै खुराक आवश्यक पर्दैन, सामान्य खाना पर्याप्त छ । तर अन्य अभ्यासमा ‘हेभ्भी डाइट’को आवश्यकता पर्दछ । योगमा मात्र शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास हो । जसबाट अत्यन्त कम शक्ति खर्चिएर शारीरिक तथा मानसिक लाभ प्राप्त गर्न सकिन्छ । कमजोर व्यक्तिले पनि योगको फाइदा लिन सक्छन् ।
योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउने प्रक्रिया हुन्छ तर अरू अभ्यासमा त्यो पाइँदैन । योगाभ्यासले सम्पूर्ण नशा–नाडी तथा रक्तनली शुद्ध गर्छ । अरू शारीरिक व्यायाममा यस्तो पाइँदैन । योगमा फोक्सोलाई पर्याप्त खुम्च्याउने र फैल्याउने अभ्यास छ । जसले अक्सिजन लिने क्षमता बढाउँछ तर अन्य व्यायाममा यो प्रक्रिया छैन ।अन्य अभ्यासमा गहिरो स्वास लिने प्रक्रिया छैन जसले गर्दा फोक्सोको कम भाग मात्र सक्रिय रहन्छ । अहिलेको रहनसहन तथा खानपिनको अवस्था विकृत बन्दै गएको छ । योगमा खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी पाइन्छ । योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास हुँदै जिउने तरिका सिकाउँछ ।





















































