झापा । काँकडभिट्टा-लौकही ‘एसियन हाइवे’ निर्माणकर्ता ठेकेदारलाई ‘एसियन हाइवे’ को काम चुस्त बनाउन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले निर्देशन दिएका छन् ।
आयोजना प्रमुख सुनिलबाबु पन्तलाई निर्माणाधीन सडकको डाइभर्सन बनाइएको ठाउँमा पानीको निकासलाई व्यवस्थित गर्न निर्देशन दिएका हुन् । ठूलो पानी आएको समयमा पानीले निकास नपाएर राजमार्ग नै अवरुद्ध पार्न सक्ने कुरालाई मध्यनजर गर्दै अहिले नै व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारीले पन्तलाई निर्देशन दिए ।
यस अघि परेको पानीले निकास नपाउँदा सडक अवरुद्ध भएको भन्दै प्रमुख जिल्ला अधिकारीले डाइभर्सनका कारण सडक अवरुद्ध हुन नदिन समयमा नै डाइभर्सन र पानीको निकासलाई व्यवस्थित गर्न निर्देशन दिए । निर्माणाधीन पूर्व – पश्चिम सडकको पूर्वी खण्डको अवलोकन गर्दै प्रमुख जिल्ला अधिकारीले सडक पूर्वाधार आयोजना प्रमुख सहित निर्माण व्यवसायीसँग छलफल समेत गरेका छन् ।
सडकका कारण कुनै पनि दुर्घटना हुन नहुने भन्दै प्रमुख जिल्ला अधिकारीले निर्माण व्यवसायी र आयोजना प्रमुखलाई जोखिमपूर्ण क्षेत्रको पहिचान गर्दै त्यस्ता ठाउँमा इन्धन भरेको स्काभेटरसहितका उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न सचेत गराएका छन् । वर्षाका कारण कुनै पनि विपद् आइलागे तत्काल त्यसको समाधानका लागि सचेत रहन उपकरण सहितको जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् । झापाका चार स्थान अति जोखिमपूर्ण क्षेत्र रहेको औँल्याएका प्रमुख जिल्ला अधिकारीले अन्य जोखिमपूर्ण क्षेत्रमा समेत सडक दुर्घटना न्यूनीकरणका लागि ‘रिफ्लेक्टिर’ राख्न भनेका छन् । जसका लागि ट्राफिक प्रहरी र सडक आयोजनाको संयोजनमा काम हुनुपर्ने प्रमुख जिल्ला अधिकारीको भनाई छ ।
सडक निर्माणाधीन अवस्थामा रहेकाले सवारीलाई तीव्र गतिमा नकुदाउन उनले सबै सवारी चालकलाई अनुरोध गरेका छन् । यदि तीव्र गतिमा सवारी चलाइएको खण्डमा ट्राफिक प्रहरीले तत्कालै जरिवाना गर्ने प्रजिअ अधिकारीको भनाई छ ।
सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी मात्र नभई यातायात व्यवसायी र सवारी चालक समेत गम्भीर बन्नु पर्ने प्रजिअ अधिकारीको भनाई छ ।
यसैबीच आयोजना प्रमुख पन्तले ट्राफिक प्रहरीसँगको सहकार्यमा सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षाका विषयमा छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले निर्माणाधीन सडकको पछिल्लो अवस्थाका विषयमा जानकारी गराउँदै वर्षाको समयमा समेत सडकलाई अवरुद्ध हुन नदिने र त्यसका लागि आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने प्रतिबद्धता जनाए ।
छलफलका क्रममा जिल्ला प्रहरी कार्यालय झा पाका प्रहरी उपरीक्षक राजन लिम्बू, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण नेपालका सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमिल्सिना, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गणेश पौडेल लगायत सहभागी थिए ।