धुलाबारी । `खेल खेलौं, स्वस्थ बनौं’ भन्ने उदेश्यले झापाको धुलाबारीमा दुईदिने ‘प्रथम मेचीनगर वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता’ सञ्चालन तयारी गरिएको छ । 

पासाङ ल्हामू ब्याडमिन्टन क्लब मेचीनगर–१० को आयोजनामा शुक्रबारबाट टाउनहलमा तयारी पुरा गरिएको क्लवका अध्यक्ष कमलकुमार राउतले जानकारी दिए ।

अनुसार प्रतियोगितामा मेचीनगरका विभिन्न वडाबाट १८ वटा टिम (सिनियर) सहभागी हुँदैछन् । प्रतियोगितामा ५ वटा जुनियर टिमको पनि प्रतिस्पर्धा हुने खेल संयोजक विष्णु तामाङले बताए । जुनियरतर्फका विजेतालाई पनि पुरस्कार तथा ट्रफी र प्रमाणपत्र वितरण गरिने बताइएको छ । 

प्रतियोगितामा सिनियरतर्फ प्रथम हुनेले ११ हजार नगदसहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले नगद पाँच हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा भाग लिन मेचीनगरबासी र कर्मचारी हुनुपर्ने नियम राखिएको छ । प्रतियोगिता ब्याडमिन्टनको अन्तर्रष्ट्रिय नियम अनुसार नै खेलाइने आयोजक समितिका सचिव युवराज चुडालले जानकारी दिए । 

प्रतियोगिताको मुख्य प्रायोजक वडा नं १० को कार्यालय रहेको भने वडा नं ९ ले सहप्रायोजन गरेको छ । प्रतियोगिताको सहयोगी संस्थामा राष्ट्रिय वाणिज्य बैंक धुलाबारी शाखा, नेपाल बैंक धुलाबारी शाखा, ग्लोबल आइएमई बैंक धुलाबारी शाखा रहेका छन् । धुलाबारीको हलेसी मेडिकल हल मेडिकल पार्टनरमा रहेको छ ।

दुई दिने प्रतियोगिताको उद्घाटन शुक्रबार बिहान ७ बजे सुरु हुने र समापन शनिबार हुनेछ । प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गराउन आयोजक समितिले तयारी पूरा गरिसकेको छ ।