झापा । झापा र मोरङमा एकैदिन दुईवटा हात्ती मृत अवस्थामा फेला परेका छन् । झापाको मेचीनगर र सुनसरीको बराहक्षेत्रमा एक–एक वटा हात्ती मृत फेला परेका हुन् । त्यस्तै हात्तीको आक्रमणमा मेचीनगर-१ दुर्जन चोक बस्ने ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठ घाइते भएका छन् ।

आज बिहान ८ः५५ बजे मेचीनगर नगरपालिका-१ गणेश टोलस्थित मकैबारीमा जंगली पोथी हात्ती मृत अबस्थामा फेला परेको हो । प्रहरी चौकी तिरिङखोलाबाट टोली खटिएर घटनास्थल सुरक्षित राखेको र डिभिजन वन कार्यालय झापाले जनाएको छ । 

त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका-२ रेल्वे लाइन बस्ने प्रल्हाद थापा र मिना राईको मकैबारीको सिमाना आलीमा एउटा जंगली हात्ती मृत फेला परेको छ ।

यता आज बिहान ४ः३५ बजे मेचीनगर नगरपालिका-१ दुर्जन चोक बस्ने ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठ जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन् । आफ्नै बारीमा आएको एकल जंगली हात्तीलाई लखेट्ने क्रममा उक्त हात्तीले श्रेष्ठलाई आक्रमण गरेको थियो । घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

आज दिउँसो पनि मेचीनगर-२ मा जंगली हात्तीको बथान नै पसेको छ । जसका कारण यहाँका स्थानीय नागरिक त्रसित छन् । बिहानदेखि नै मेचीनगर-२ स्थित मगर डाँडामा भने २० वटाभन्दा बढी जंगली हात्ती डुलिरहेका छन् ।