शिलिगुडी । भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा एउटा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिर नजिकको गौरीकुन्डमा आइतबार बिहान ५ः२० बजेको समयमा हेलिकप्टर दुर्घटना परेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । हेलिकप्टर दुर्घटनामा परी पाइलटसहित सात जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमध्ये एक जना नावालन पनि छन् ।
हेलिकप्टरमा सात जना सवार थिए । सो हेलिकप्टर केदारनाथ मन्दिरबाट गौरीकुन्डका लागि उडेको थियो। प्रारम्भिक जानकारीका अनुसार खराब मौसमका कारण दुर्घटना भएको हुन सक्ने आशङ्का गरिएको छ । हेलिकप्टर आर्यन उड्डयन कम्पनीको हो।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह एक्समा लेखेका छन्, ‘रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको धेरै दुस्खद खबर प्राप्त भएको छ।’ उनका अनुसार अहिले दुर्घटनास्थलमा एसडीआरएफ र स्थानीय प्रशासन उद्धारमा खटिएका छन्।