झापा । झापा जिल्लाबाट पछिल्लो तीन वर्षमा वैदेशिक रोजगारी गएकामध्ये १९५ जनाको मृत्यु भएको जनाएको छ । रोजगारीको क्रममा अङ्गभङ्ग भएर ७८ जना स्वदेश फर्किएका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी) ले भद्रपुर नगरपालिकामा आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारीका लागि पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशमध्येबाट सबै भन्दा बढी मृत्यु हुने झापा जिल्लाबाट रहेको सामीका कार्यक्रम संयोजक शेखर बुढाथोकीले जानकारी दिए ।
विभागको तथ्याङ्क अनुसार झापामा चालु आर्थिक वर्ष ०८१/८२ जेठ २५ गतेमा ७१ जना, आर्थिक वर्ष ०८०/८१ मा ८० र आर्थिक वर्ष ०८१/८२ मा ४४ जनाको मृत्यु भएको संयोजक बुढाथोकीले बताए । झापापछि सबै भन्दा बढी मृत्यु हुने जिल्लामा मोरङ र सुनसरी रहेका छन् । तीन वर्षको अवधिका मोरङमा १४६ र सुनसरीमा १४१ जनाको मृत्यु भएको उनले बताए ।
त्यसैगरी वैधानिक बाटो भएर झापाबाट वैदेशिक रोजगारमा जाने महिलाको सङ्ख्या देशभरकै अग्रस्थानमा रहेको छ ।
चालु आर्थिक वर्षमा मात्रै ६ हजार ६६६ जना महिला विदेश गएका छन् । देशभरका जिल्लाहरूमध्ये झापाबाट १९.५ प्रतिशत महिला विदेश गएका छन, जुन सबैभन्दा धेरै हो ।
यस जिल्लाबाट खाडी मुलुकतर्फ महिला श्रमिक बढी गएको देखिन्छ । पछिल्लो समय युरोप, अमेरिका र अस्ट्रेलिया जाने पनि बढेको छ । विदेश गएकामध्ये धेरैजसो महिला ठगी र शोषणको चपेटामा पर्ने गरेको सीमाको तथ्याङ्कमा उल्लेख छ । सामी कार्यक्रममार्फत सूचनामा पहुँच, सीप तालिम, मनोसामाजिक परामर्श तथा न्यायमा पहुँच जस्ता सेवाहरू प्रदान गर्दै वैदेशिक रोजगारमा जानेहरूलाई सशक्त बनाउने प्रयास संयोजक बुढाथोकीले बताए । विगत पाँचको तथ्याङ्क अनुसार जिल्लामा मात्र ३०३ जना ठगीमा परेकामध्ये १४१ जनालाई ३ करोड ३५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाइएको र १५१ जना अझै प्रक्रियामा रहेको उनले बताए । चालु आर्थिक वर्षमा ५ जना व्यक्तिलाई पारिवारिक स्वास्थ्य उपचार, २ जनाको अङ्गभङ्ग तथा बिरामी उपचार, २ जनालाई मृत्युको आर्थिक सहायता र २७१ जनालाई पुनः श्रम स्वीकृति प्रदान गरिएको उनको भनाई छ ।
सामी कार्यक्रम जिल्लाको भद्रपुर, दमक, मेचीनगर, गौरीगञ्जमा सञ्चालन भइरहेकोमा आगामी आर्थिक वर्षदेखि हल्दिबारी, गौरदाह, झापा, कमल, बाह्रदशी र बुद्धशान्तिमा सञ्चालन हुने जनाइएको छ । यता भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले वैधानिक बाटो भन्दा अवैध बाटो भएर वैदेशिक रोजगारीमा जाँदा पालिकामा समस्याहरू बढी आउने गरेका बताएका छन् । राज्यले वैदेशिक रोजगारलाई पूर्ण रूपमा अपनत्व ग्रहण गर्न नसक्दा रोजगारीको नाममा ठगी गर्नेहरू बढिरहेकोले त्यसतर्फ सबै निकायले ध्यान दिन आग्रह गरे ।