मेचीनगर । अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ का कारण मेचीनगर नगरपालिकामा एकै फर्मका ८० वटा मरेका छन् । मेचीनगर- ६ स्थित बबिता बङ्गुुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’का कारण ८० बङ्गुर मरेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पुष्टि गरेको छ ।

धेरै बङ्गुर मरेपछि परीक्षण गर्दा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भएको पशु सेवा शाखाका प्रमुख विक्रम गुरुङले बताए ।

घरपालुवा पशुहरूमा अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ सङ्क्रमण देखापरेको पाएपछि पशुपालक कृषक त्रासित बनेका छन् ।  मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा- ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।

“लम्पी स्किन र स्वाइन फ्लूको सङ्क्रमण पुष्टि भयो”, उनले भने, “नगरको पशु सेवा शाखाबाट सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक परीक्षण, उपचार र सतर्कताका सात जना प्राविधिक कर्मचारी परिचालन गरिरहेका छौँ । कोशी प्रदेश र सङ्घीय सरकारका निकायमा समेत आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरिसकेका छौँ ।”

पशु सेवा शाखाका प्राविधिक छत्र राईका अनुसार गाई र बाच्छीहरूमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएपछि किसानको गोठमै पुगेर प्राविधिक टोलीले उपचार सुरु गरेको छ । गाईवस्तको जिउभरि घाउ खटिरा र ज्वरो आउने लक्षण रहेको जनाउँदै उनले किसानलाई गोठको सरसफाइका लागि फिनेललगायतका सामग्री वितरण गरिएको बताए सङ्क्रमित गाई र बाच्छीहरूलाई अलग्गै राखेर मल्हम लगाउने र पेनकिनर औषधि खुवाउने गरिएको उनले बताए ।

नगरपालिकाको पशु सेवा शाखा प्रमुख गुरुङसहितको प्राविधिक टोलीले प्रभावित बङ्गुर फार्म र आसपासका क्षेत्रका रोग फैलिन नदिन औषधीउपचार र सचेतनाका कार्यहरू गरिरहेको छ ।