मेचीनगर । राष्ट्र निर्माण मन्च नेपाल (FNB) ले मंगलबार झापाको मेचीनगरको वडा नम्बर ८ र १५ मा `आप्रवासी सम्बन्धि सामुदायिक घुम्ती क्लिनिक´ कार्यक्रम सम्पन्न गरेको छ ।
वैदेशिक रोजगारमा पुगेर विभिन्न समस्या झेल्दै आएका नेपालीलाई उद्दार र सेवा दिइँदै आएको राष्ट्र निर्माण मन्च नेपालले एकै दिन दुईवटा वडा कार्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

वैदेशिक रोजगारीमा जानुपुर्व गरिनुपर्ने आवश्यक कागजात, श्रम स्वीकृति, मेनपावर वा कन्सल्टेन्सीको अवस्था बुझेरमात्र जानुपर्ने र बिदेश पुगेपछि ध्यानदिनुपर्ने सुरक्षा र कानुनी कुरा, समस्या आए कसरी सामाधान गर्नेबारे राष्ट्र निर्माण मन्च नेपाल (FNB) का अध्यक्ष अधिवक्ता निर्मल उप्रेतीले सहजीकरण गरेका थिए ।

विभिन्न प्रलोभन देखाउँदै बिदेश पुर्याउने र पुरुषलाई श्रमशोषण गर्ने, जवर्जस्ती काममा लगाउने, अपराधिक गतिविधिमा लागाउने र शरीरका अंग बिक्री गर्न प्रेरित गर्ने र महिलालाई वेश्याबृतिमा लगाउने जवर्जस्ती विवाह गर्न लगाउने, पैसा बोकेर सीमा पार गर्न लगाउने जस्ता क्रियाकलापमा लाउने गरेकाले सचेत हुन आग्रह गरेका थिए ।

उनले वैदेशिक रोजगारीका क्रममा सम्झौताबमोजिम तलब सुबिधा नपाइएमा, दुर्घटना भइ अपाङ्ग भएमा, मृत्यु भएमा वा अङ्गभंग भएमा तत्काल नेपाल सरकारको वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय वा गैरसरकारी संस्था राष्ट्र निर्माण मन्च नेपाल (FNB) मा खवर गर्न आग्रह गरेका थिए ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा उनको परिवारलाई मासिक सुबिधासहित बालबच्चालाई पठपाठन खर्चको ब्यवस्था गर्ने सुबिधा रहेको जानकारी दिइएको थियो ।

न्यायमा पहुँच, मानवअधिकार, आप्रवास, विपद्, शुसासन, महिला अधिकारका बिषयमा कानुनी क्लिनिक, आप्रवासन स्कुल, मनोसामाजिक परामर्श, कानुनी परामर्श र सहयोग, उद्दार तथा राहत पुर्याउदै आएको राष्ट्र निर्माण मन्च नेपाल (FNB) का संयोजक अधिवक्ता सुमन न्यौपानेले बिदेशमा मानव बेचबिखनमा परेकाको उद्दार र राहत राहत वितरण गर्दै आएको जानकारी दिए ।

मेचीनगर-८ का वडाध्यक्ष गिरिराज धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोल विकासका ४५ जनाको सहभागिता रहेको थियो भने वडा नम्बर-१५ का अध्यक्ष गुणराज भट्टराईको अध्यक्षतामा सम्पन्न आप्रवासी सम्बन्धि सामुदायिक घुम्ती क्लिनिकमा ५६ जनाको सहभागिता रहेको थियो ।
सोमबार मेचीनगर-१४ मा आयोजित आप्रवासी सम्बन्धि सामुदायिक घुम्ती क्लिनिक वडाध्यक्ष बाबुलाल सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा ८९ जनाको सहभागिता रहेको थियो ।
मंगलबार वडा नम्बर-८ मा अम्बिका अधिकारीले र वडा नम्बर-१५ मा गीता खरेलले सञ्चालन गरेकी थिइन् ।





















































