बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाले स्व. इच्छुकको स्मृति दिवस मनाइएको छ । प्रगतिशील पत्रकार तथा साहित्यकार स्वर्गीय कृष्ण सेन इच्छुकको २३ औं स्मृति दिवस प्रेस सेन्टर नेपालले देशभर मनाउने क्रममा झापामा पनि मनाएको हो ।
गौरीशंकर स्मृति प्रतिष्ठानको सभा हलमा सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपीन राई लगायतले स्व: इच्छुकको फोटोमा माल्याणपन गरेका थिए । प्रमुख अतिथि राईले कृष्ण सेन जनपक्षीय पत्रकारको सूत्रधार भएको बताए । उनले नेपाली जनताको जिउने आधारका विषयमा त्यो बेला नै  इच्छुकले आफ्ना कलममार्फत जनतालाई सुसूचित गराएको स्मरण गरे । इच्छुकले सुन्दर नेपाल र शान्त नेपाली हुनका लागि लोकतान्त्रिक गणतन्त्रभित्र संघीय राज्य स्थापना भए नेपालले विकासको नयाँ फड्को मार्ने बताउने गरेका थिए ।
प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेन्टरका पूर्वकेन्द्रीय सदस्य लीलाराज झापालीले मन्तब्य राखेका थिए । उपाध्यक्ष होमप्रकाश अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।