झापा । नेपाल पत्रकार महासंघ झापाले सोमबार चारवटा पालिकामा ज्ञापनपत्र बुझाएको छ । जिल्लाका १५ वटै पालिकामा ज्ञापनपत्र बुझाउने अभियान अन्तरगत सोमवार महासंघले कनकाई, अर्जुनधारा, मेचीनगर नगरपालिका र कचनाकवल गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो ।
झापामा रहेका १५ वटै पालिकाले झापाभित्र रहेका सबै सञ्चार संस्था र पत्रकारका लागि सञ्चार नीति निर्माण गरी लागू गर्नु पर्नेलगायतका मागसहित १५ वटै पालिकामा ज्ञापनपत्र बुझाउने अभियान सञ्चालन गरेको छ ।
अभियानका क्रममा कनकाई र अर्जुनधारा नगरका नगर प्रमुखहरुलाई बुझाइएको थियो । कनकाई नगरका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र अर्जुनधारा नगरका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।
गत आइतबारदेखि सुरु गरेको अभियानअन्तरगत महासंघका अध्यक्ष एकराज गिरीको नेतृत्वमा कनकाई र अर्जुनधारा नगरपालिकामा ज्ञापनपत्र बुझाईको छ भने महासंघका सचिव राजु पाठकको नेतृत्वमा कचनाकवल गाउँपालिका र महासंघका कोषाध्यक्ष मुक्ति पौडेको नेतृत्वमा मेचीनगरमा ज्ञापनपत्र बुझाइएको हो ।
कनकाई नगरमा बाचन तथा सहजीकरण महासंघका उपाध्यक्ष सुव्रत न्यौपानेले गरेको कार्यक्रममा महासंघ अध्यक्ष गिरीसहित उपस्थित पत्रकारहरुले ज्ञापनपत्र हस्तान्तरण गरेका थिए । अर्जुनधारा नगरपालिकामा अर्जुनधारा प्रेस क्लबका पदाधिकारीसहित स्थानीय अग्रज पत्रकारहरुका साथमा नगर प्रमुख बलदेव र उप–प्रमुख खड्गमाया पराजुलीलाई अध्यक्ष गिरीले ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।
मेचीनगरमा महासंघका कोषाध्यक्ष मुक्ति पौडेलको नेतृत्वमा स्थानीय तथा अग्रज पत्रकारहरुले नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उप–प्रमुख मिना उप्रेती पोखरेल र प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको बताइएको छ ।
पछिल्लो समय झापाका केही पालिकाले स्थानीय सञ्चारनीति निर्माण गरी पालिका भित्रका सञ्चार संस्थालाई मात्र बिज्ञापन र सेवासुविधा दिदै आएका छन् ।
महासंघले पालिकामा सञ्चार सम्बन्धी आवश्यक नीति तथा सबै कानूनहरु सञ्चारमैत्री रुपमा निर्माण गरी एक वर्षभित्रमा कार्यान्वयन गर्नुपर्ने, सञ्चारमाध्यमहरुको संरक्षण, सञ्चालन र विकासका लागि स्थानीय सूचना तथा विज्ञापन, लोककल्याणकारी सन्देशमूलक विज्ञापन स्थानीय (जिल्लाभित्रका) सञ्चारमाध्यमलाई उपलब्ध गराउनु पर्ने, पालिकामा रहेका सबै सञ्चारकर्मीको यसै वर्षबाट वार्षिक नवीकरण हुने गरी स्वास्थ्य बीमा गरिदिनु पर्ने, पत्रकारको सीप, क्षमता विकास तथा मिडिया साक्षरताका लागि पर्याप्त बजेट विनियोजनका गरिदिनु पर्ने माग राखिएको छ ।
यसैगरी सञ्चारकर्मीको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा अनुदान सहयोग, पत्रकार महासंघको भौतिक विकास तथा सञ्चार उपकरण खरिदमा आवश्यक सहयोग प्रदान गरिदिनु पर्ने र स्थानीय सरकारका असल अभ्यास तथा विकासका महत्वपूर्ण कामहरु बारे खोजमूलक अध्ययन र लेखनवृत्ति कार्यक्रमका लागि आवश्यक बजेट विनियोजनको मागसहित महासंघले ज्ञापनपत्र बुझाएको छ ।





















































