काँकरभिट्टा । भारतले-पाकिस्तानमाथि अघोषित रुपमा गरेको सैन्य कारबाहीपछि नेपालले भारतसँग जोडिएका सीमा क्षेत्रमा कडाइ गरेको छ । नेपाल सरकारले सशस्त्र प्रहरी सुरक्षा बलले नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउँदै कडाइ गरेको हो ।

अवैध घुसपैठ रोक्न सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरीले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा संयुक्त गस्ती, पट्रोल र सूचना आदान–प्रदानलाई तीव्रता दिइएको छ । खुल्ला सिमानाको फाइदा उठाउन नदिन शसस्त्र प्रहरीले सिमाबर्ती प्रवेशद्वारमा निगारानीलाई कडाई गरेको हो ।

पुर्बी नाका काँकरभिट्टा सीमा क्षेत्रमा शसस्त्र प्रहरी बल वेस क्याम्पले भारतबाट नेपाल आवतजावत गर्ने व्यक्तिको परिचयपत्र जाँच गरी अभिलेख राख्ने, सम्भावित संवेदनशील स्थानमा निगरानी र सूक्ष्म रूपमा सूचना संकलन गर्ने कार्य पनि भइरहेको छ।
सीमा क्षेत्र व्यवस्थित गर्न र अवैध गतिविधि रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समन्वय गरी सूचना आदान-प्रदान र निगरानीलाई कडाइ गरिएको छ।

नेपाल-भारत सीमामा परम्परागत आवतजावतलाई सहज बनाउँदै असहजता र हैरानी नहोस् भन्नेमा पनि सशस्त्र प्रहरी सचेत छ। साथै, शहरी क्षेत्रका महत्वपूर्ण स्थानहरूमा सुरक्षा निगरानी पनि बढाइएको छ।





















































