झापा । भारतबाट भन्सार तिरेर ल्याइएका पेट्रोलियम पर्दाथ चोरी गर्दै गरेको अवस्थामा २ वटा ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान ९ बजे रुपन्देहीस्थित नेपाल आयल निगम भलवारी डिपोको लागि भारतबाट ल्याइँदै गरेको पेट्रोलियम पदार्थ बोकेका २ वटा ट्याङ्करले भैरहवास्थित सराफ आयल सेन्टरमा तेल निकालिरहेको अवस्थामा प्रहरीले १० बजे नियन्त्रणमा लिएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरको ट्याङ्कर नियन्त्रणमा लिएर दुबैको सिल तोडिएको र तेल निकालिएको अवस्थामा भेटिएको जनाएको छ । आयल निगमको भलवारी डिपोमा भारतबाट आउने पेट्रोलियम पदार्थ ढुवानीकर्ता ट्याङ्कर व्यवसायी तथा आयल सेन्टर विक्रेताको मिलेमतोमा ६ महिनादेखि तेल चोरी हुँदै आएको श्रोतले बताएको छ । उनीहरुले एउटा ट्याङ्कबाट दैनिक ५ हजार लिटरसम्म तेल चोरेर बेच्ने गरेको बताइन्छ । स्रोतका अनुसार उक्त तेल चोरी प्रकरणमा आयल निगम भलवारी डिपोका अधिकृतहरुको समेत संलग्नताको आशंका गरिएको छ ।तेल चोर्ने क्रममा अनिवार्य तोडिने सिल भलवारी डिपोले जाँच नगर्ने,आयात गरिएका पेट्रोलियम पदार्थको नापजाँच नगर्ने कारणले उक्त तेल चोरीमा आयल निगमका अधिकारीहरुको संलग्नता हुन सक्ने दावी श्रोतको छ । पक्राउ गरिएका ट्यांङ्कर तथा एक सहचालक लाई थप अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा राखिएको छ । यसअघि पनि भलवारी डिपोका लागि तेल ढुवानी गर्ने ट्याङ्करहरुबाट तेल चोरीका घटना हुँदै आएका थिए ।






















































