झापा । झापा दमक नगरपालिकाका कानून अधिकृत माधव वस्नेतको सवारी दुर्घटनामा मृत्यु भएको छ ।जनप्रतिनिधिसहित ६ जना घाइते भएका छन् ।
चितवनबाट झापाको दमकतर्फ आउँदै गरेको स्कारपियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानून अधिकृत ५५ वर्षीय माधव वस्नेतको मृत्यु भएको हो ।
मे. १ च ३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई सडक किनाराको फलामको ट्रष्ट बेरियरमा ठोक्किएको थियोे । दुर्घटनामा परी दमक वडा नम्बर १० का अध्यक्ष राजेन्द्र भण्डारी, ६ का वडा सदस्य कमल श्रेष्ठ, नगरपालिकाकै सवारी चालक ३८ वर्षीय देवेन्द्र तामाङ, दमक १ निवासी ४५ वर्षीय ज्ञानेन्द्र गौतम, २ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका–१ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु भ्रमणका लागि चितवन गएको बताइएको छ ।





















































