ताप्लेजुङ । ताप्लेजुङमा आन्दोलनरत ´नो-केबलकार समूह´ले घेरा हालेपछि नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराई शौचालयमा लुकेका छन् ।
कञ्चनजंघा हिरक महोत्सवको उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेसहित नेता भट्टराई हेलिकोप्टरबाट ताप्लेजुङको लेलेप पुगेका थिए।
पूर्व पर्यटनमन्त्रीसमेत रहेका सांसद भट्टराई शुक्रबार कञ्चनजंघा हिरक महोत्सवमा पुगेका उनी विरुद्ध आन्दोलनकारीले शौचालयमै घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल हालेर सांसद भट्टराईलाई सुरक्षा दिएको थियो । केहीबेरपछि प्रहरीको जनशक्ति थपिएर भीड तितरबितर पारेपछि भट्टराई शौचालयबाट बाहिर निस्किएका थिए ।
उनलाई प्रहरीले हेलिकोप्टरसम्मै सुरक्षा दिनुपरेको थियो। फक्ताङलुङ गाउँपालिका-६ लेलेपमा महोत्सव भइरहेको छ। महोत्सवमा सहभागी भएर काठमाडौँ फर्किने बेला भट्टराईविरुद्ध नाराबाजी भएको थियो ।
उद्घाटन कार्यक्रम सम्पन्न भएपछि मन्त्री पाण्डे हेलिकप्टर भएतिर गए। उनीसँगै रहेका सांसद योगेश भट्टराई भने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भवनमा रहेको शौचालयतिर लागे । जब भट्टराई सिंढी चढेर शौचालय उक्लिए, वरपर रहेका स्थानीयले उनीविरुद्ध नाराबाजी सुरु गरेका थिए।
भट्टराईमाथि आक्रमणसम्मकै प्रयास भएपछि प्रहरी र स्थानीयबीच ठेलाठेल भएको थियो। स्थानीयले भने आफूहरूमाथि कुटपिट भएको दाबी गरेका छन्।
पाथीभरा मुक्कुमलुङ केवलकारको बिषयलाई लिएर नो केबलकार समूहले भट्टराईलाई कालो झण्डा देखाउने, विरोध गर्ने कार्य विगतदेखि नै गर्दै आएका छन् । कोशी प्रदेशका सांसद राम रानामाथि भएको दुर्ब्यवहारको विषयमा प्रतिनिधिसभामा सांसद भट्टराईले असन्तुष्टि जनाएका थिए । त्यसपछि भट्टराईप्रति पहिचान पक्षधरले विरोध जनाउँदै आएका छन् ।
यसैबीच एमाले नेता भट्टराईले सो घटनाप्रति आफूलाई दुःख नलागेको बताएका छन् । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘कञ्चनजङ्घा हिमाल आरोहणको ७० वर्ष पुगेको अवसरमा ताप्लेजुङ जिल्लाको लेलेपमा हिजोदेखि शुरु भएको कञ्चनजङ्घा महोत्सव बैशाख ७ गते समापन हुनेछ ।





















































