काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको समयभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा सञ्चारीका समूह नेपालको ९ औँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने स्पष्ट पारेका हुन् । 

सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एक महिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे । उनले सामाजिक सञ्जालसम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभई नियमन गर्नका लागि ल्याइएको स्पष्ट पारे ।